• १३ साउन २०८१, आइतबार

तीन जनालाई मधुपर्क सम्मान

blog

काठमाडौँ, जेठ २० गते । मधुपर्क सम्मान, २०८० यस पटक वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई प्रदान गरिने छ। वरिष्ठ साहित्यकार गणेश रसिकको संयोजकत्वको तीन सदस्यीय मधुपर्क सम्मान २०८०, चयन समितिले उक्त निर्णय गरेको हो। गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ।  

मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिने छ। यसै गरी मधुपर्क प्रतिभा सम्मान, २०८० छन्द तथा बालकवि एवं समालोचक प्रभा भट्टराईलाई मधुपर्कको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने छ।  नेपाली साहित्यमा कविता विधामा विशेष योगदान दिनुहुने कृष्णभक्त श्रेष्ठ लामो समय पत्रकारिता क्षेत्रमा पनि संलग्न हुनुहुन्थ्यो। विसं २०१३ मा पहिलो कविता प्रकाशित भएपछि निरन्तर कविता विधामा सक्रिय  ८५ वर्षीय श्रेष्ठका ‘कृष्णभक्त श्रेष्ठका कविता’, ‘मान्छेको कथा’, ‘रातको दस बजे’ ‘ठुलोमान्छे’ जस्ता कवितासङ्ग्रह प्रकाशित छन्। श्रेष्ठ गोरखापत्र तथा  मधुपर्कका पूर्वप्रधान सम्पादक हुनुहुन्छ। 

विसं २०१६ मा पहिलो कथा प्रकाशित गरेर साहित्यमा देखा पर्नुभएका ८५ वर्षीय पुष्कर लोहनीका कौडी (कविता सङ्ग्रह), चहकदार मैइन्टोन र पिलपिले लालटिन (समालोचना), धरहराको टुप्पो (कथासङ्ग्रह), अदृश्य मान्छे (उपन्यास) लगायत हाइकु, ताङ्कासङ्ग्रह गरी करिब एक दर्जन कृति प्रकाशित छन्। 

विशेष गरी छन्द कविता र बालसाहित्यमा केन्द्रित ५७ वर्षीय प्रभा भट्टराईका पोसिला कविता, मेरो सानो भाइ (बालकवितासङ्ग्रह),  सन्तु र सुधा (बालकथासङ्ग्रह), गीतापापा, सुनकेशरी मैया (बालकाव्यहरू), बालचित्र कथा सङ्ग्रहहरू, शारदा अधिकारी (जीवनी), सरित् सङ्गम (कवितासङ्ग्रह)  लगायत करिब डेढ दर्जन कृति प्रकाशित छन्।