ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १९ गते । म्याग्दीको बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ । महोत्सवको शुक्रबार गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले उद्घाटन गर्नुभएको हो ।
महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री सिम्खडाले सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि स्थानीय तहले आवश्यक नीति बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको बताउँदै उहाँले भन्नुभयो, "सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिका लागि प्रदेश सरकारले आवश्यक नीति निर्माणमा जोड दिएको छ ।" स्थानीय तह र समुदायको पहलमा विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने उहाँको सुझाव छ ।
विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सवले विद्यार्थीहरुको प्रतिभाको पहिचान र शैक्षिक सुधारका लागि बहस सिर्जना गर्ने अपेक्षा मन्त्री सिम्खडाले व्यक्त गर्नुभयो ।
महोत्सवमा शिक्षा, साहित्य, कला, संस्कृति र विज्ञान तथा प्रविधिसँग सम्बन्धीत सामग्री प्रदर्शन गरिने विद्यालयका प्राधानाध्यापक सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो । महोत्सवमा शैक्षिक जानकारी मुलक स्टलहरु निशुल्क रुपमा राख्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाभित्र रहेका विद्यालयहरुले स्टलहरु राखेका छन् । चार दिनसम्म सञ्चालन हुने महोत्सवले विद्यार्थीको प्रतिभाको पहिचान, विज्ञान प्रविधि, कला र संस्कृतिको संरक्षण गर्न टेवा पुग्ने विद्यालयका प्रअ ढुङ्गानाले बताउनुभयो ।
शैक्षिक क्षेत्रको विकास र सम्भावनाको उजागर गर्नका लागि विद्यालयले शैक्षिक महोत्सवको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले बताउनुभयो । महोत्सवमा वक्तृृत्वकला प्रतियोगिता, मोटिभेसनल कक्षा, खुल्ला कविता, चित्रकला, भजन प्रतियोगिता, विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शन र हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरिने विद्यालयले जनाएको छ ।