• १५ वैशाख २०८१, शनिबार

अवसर, समय, प्रविधिको दुरुपयोग गर्नु हुँदैन

blog

साहित्यकार प्रभा भट्टराईसँग कुराकानी गर्नुहुँदै कक्षा ९ मा अध्ययनरत छात्र आदिक काफ्ले ।

मुनाको जेठ अङ्कको ‘स्रष्टा संवाद’ मा यस पटक हामीले तनहुँ जिल्ला, चुँदी रम्घामा जन्मनुभएका साहित्यकार प्रभा भट्टराईसँग एलआरआई मावि, कलङ्कीमा कक्षा ९ मा अध्ययनरत छात्र आदिक काफ्लेले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । साहित्यकार प्रभा भट्टराईको बाल्यकाल र साहित्य सिर्जनामा उहाँको योगदानका बारेमा गरिएको रमाइलो कुराकानी :   

तपाईंको विचारमा बालसाहित्य के हो ?

बालसाहित्य साहित्यको जरा हो । एउटा रुखलाई हेरौँ त ! जरा बलियो भयो भने रुख बलियो हुन्छ तर जरा नै कमजोर भयो भने त रुख नै बाँच्न वा अडिन सक्दैन नि ! हो, त्यस्तै बाल्यकालमा नै मान्छेलाई साहित्यतिर रुचि जगाउँदै पछि राम्रो वा परिपक्व साहित्यकार बनाउने, गहन पाठक बनाउने साहित्य बालसाहित्य हो । यो बालबालिकाको उमेर, रुचि, आवश्यकता, क्षमताअनुसारका विषय, भाषा, चित्र, लय, लमाइ आदि मिलाएर लेखिएको हुन्छ । यो बालबालिकाले पनि लेख्न सक्छन् अनि ठूला मान्छेले पनि लेख्न सक्छन् तर यसका मूल पाठक चाहिँ बालबालिका नै हुन्छन् । 

बालसाहित्य लेखनमा कसरी आकर्षित हुनुभयो ?

मेरो जन्म नै साहित्यसँग नजिकको सम्बन्ध भएको परिवारमा भएको हो । बुवा लेखक हुनुहुन्थ्यो । मेरो गाउँ आदिकवि भानुभक्त जन्मिएको गाउँ हो र म पनि तिनै भानुभक्तकै वंशज हुँ । यसले गर्दा मेरो परिवार मात्र नभएर मेरो गाउँमा नै प्रायः सबैलाई भानुभक्तीय रामायणलगायतका कविताहरू कण्ठस्थ हुन्थे । यसरी मेरो वंश, परिवार र सिङ्गो परिवेशले मलाई साहित्य पढ्न अनि साहित्यकार बन्न प्रेरणा दियो । 

हालसम्म के कस्ता विधाका के कति ग्रन्थहरु लेख्नु भएको छ ?

हालसम्म मैले दुई दर्जन बढी पुस्तक रचना गरेकी छु । तिनमा बालसाहित्यिक पुस्तकहरू पोसिला कविता, मेरो सानो भाइ, सन्तु र सुगा, गीत पापा, सुनकेस्रा मैयाँ आदि हुन् । बाँकी पुस्तकहरू चाहिँ अरू अथवा ठूलो उमेरका पाठकहरूलाई बढी उपयोगी छन् । 

हामीजस्ता बालबालिकाले बालसाहित्यका के कस्ता पुस्तकहरु पढ्नुपर्छ होला ?

बजारमा धेरै प्रकारका पुस्तक पाइन्छन् । बालबालिकाले ती अनेक कुराका होइन, आफूले बुझ्न सक्ने, पचाउन सक्ने, रुचि लाग्ने, नयाँ र आवश्यक कुरा सिक्न सक्ने अनि सरल भाषाका पुस्तक पढ्नुपर्छ । बालबालिकाले आफैँ यस्ता किताब चिनेर, खोजेर भेट्याउन गाह्रो पर्न सक्छ । त्यसैले यसका लागि उनीहरूका अभिभावकले पनि सहयोग गर्नुपर्छ । 

तपाईंको बाल्यकालको समय र अहिलेको समयमा के फरक पाउनुहुन्छ ?

धेरै फरक छ नि ! मेरो बाल्यकालसम्म पनि धेरै विद्यालयहरू थिएनन् । घण्टौँ हिँडेर विद्यालय पुग्नुपथ्र्यो । अभिभावकहरूलाई छोराछोरीलाई पढाउँदा र नपढाउँदा के फरक हुन्छ भन्ने थाहा पनि थिएन । विद्यालयमा पढ्ने किताब नै सजिलै पाइँदैनथ्यो भने अरू पत्रपत्रिका र साहित्यिक किताबबारे त थाहै हुँदैनथ्यो । रेडियो, टीभी, मोबाइल, इन्टरनेट आदिबारे केही थाहा थिएन । सिर्जनात्मक खालका प्रतियोगिता र प्रतिस्पर्धा हुँदैनथे । अहिलेका बालबालिकाका लागि त के छैन र ? अहिलेका बालबालिका त बढो भाग्यमानी पुस्ता जस्तो लाग्छ मलाई । 

बालसाहित्यसम्बन्धी पढ्नै पर्ने कुनै पुस्तकहरु छान्नुप-यो भने तपाईं कुन कुन छान्नुहुन्छ ?

अहिले सम्झनामा आएका मलाई मन परेका पुस्तक रमाइला नानी, धूमधामको घुमघाम, मेरो कथाको एलियन, बाला लहरी, पानी पानी हुन् तर यी मात्र राम्रा र ठीक भन्ने होइन । 

बालबालिकालाई के सल्लाह र सुझाव दिनुहुन्छ ?

अहिलेको पुस्ता नै भाग्यमानी पुस्ता हो । अहिलेका बालबालिकाका लागि राम्रा विद्यालयहरू छन्, सचेत अभिभावक हुनुहुन्छ, प्रशस्त पढ्ने सामग्री छन्, प्रविधि छ अनि पढ्नकै लागि परिवेश र समय पनि छ तर यी सबै भएर पनि तिनको उपयोग गरिएन वा गर्न जानिएन भने छिटै बिग्रिने खतरा पनि अहिले नै छ । त्यसैले अवसर, समय, प्रविधि आदिको दुरुपयोग गर्नु हुँदैन । समय सबैभन्दा महìवपूर्ण हुन्छ भन्ने कुरा बझ्नुपर्छ । समयमा नै मेहनत गरियो भने मात्र भोलि सही ठाउँमा पुग्न सकिन्छ भन्न चाहन्छु ।