टङ्क चौलागाईं
स्थानः होलीको दिन । घरको छाना । समयः दिउँसो ३ बजे, पात्रहरूः सुमन, आमा, बुवा, परपर काग कराइरहेको छ । वल्लो घर पल्लो घरमा बच्चाहरू होली खेलेर रमाइलो गरेको सुनिन्छ । पृष्ठभूमिमा होलीको गीत पनि बजिरहेको छ । त्यही हल्लाको बीचबाट सुमन आउँछ ।
सुमन : मैले कस्तरी रङ लगाइदिएँ, सबैलाई लगाइदिएको ।
बुवा : खेल्न पुग्यो हैन अब ? ...हेर कति धेरै रङ लगाएको होला । खै, खै फोटो खिचौँ, सरिता आउन ।
आमा : हामीले नुहाइ हाल्यौँ । (फोटो खिच्छन् ।) ...हेर, कस्तो थाकेको ।
सुमन : खेल्न पुग्यो, कस्तो थकाइ लाग्यो । पिचकारी राखिदिनु ।
आमा : रहर मेटियो नि ? अर्काे वर्ष मात्रै हो होलि खेल्ने । रङ चाहियो, पिचकारी चाहियो भनेर झगडा गर्ने हैन ।
सुमन : गर्दिन के...पुग्यो अब ।
आमा : ल आउ, यो सफा गरिदिन्छु । मुख धुने, सबै रङ पुछेर अर्काे लुगा फेरिदिन्छु ।
बुवा : के भनेको होला, पुछेर हुन्छ त ? यस्तो विरूप भएको छ नुहाउनु परेनँ ! (सुमन रुन थाल्छ ।)
आमा : ठीकै छ नि बच्चा हो, सफा पारेर पुछेपछि रङ गइहाल्छ, घाम पनि हराउँदै गयो ।
बुवा : कहाँ पुछेर जान्छ यस्तो रङ । यस्तो फोहोरी भएपछि जिउमा खटिरा निस्किन्छ । ल आउ म बाबुलाई विस्तारै नुहाइदिन्छु । (सुमनको रुवाइ बढ्छ ।)
आमा : तपाईंले नै दुई दिन अगाडि नुहाइदिनु भएको हैन भन्या ? नुहाउन कति गाह्रो छ, जबरजस्ती नुहायो भने फेरि अस्तिको जस्तै बिरामी हुन्छ ।
सुमन : (रुन थाल्छ ।) ...चिसो छ, चिसो छ । म नुहाउँदै नुहाउँदिन ।
बुवा : नुहाउनु पर्छ बाबु । पानी तातो पारेर आउँछु ।
सुमन : (बेस्सरी रुन्छ ।) नुहाउँदिन, नुहाउँदै नुहाउँदिन ।
आमा : फेरि रुन थाल्यो । भइहाल्यो के, रङ सप्पै निखारेर पुछिदिन्छु ।
सुमन : हुन्छ । नुहाउन कस्तो डर लाग्छ ।
बुवा : जुम्रा पर्छ, जिउ गन्हाउँछ । यो रङ पुछेर जाँदैन, स्कुलमा म्यामले, साथीहरूले छ्या फोहोरी भन्दैनन् ?
सुमन : चिसो भयो । (सुमन बेस्सरी रुन्छ ।) अर्काे लुगा लगाइदिनु ।
आमा : नुहाउनु पर्दैन भनेको पनि मान्ने हैन, खोक्न थालिसक्यो...लत कोठाबाट लुगा ल्याइदिन्छु । (जान्छिन् ।)
बुवा : नुहाएर कोही बिरामी हुन्छ भन्या ! सफा पारेर नुहाउने, घाममा मज्जाले तेल लगाउने, हस ? ...अस्ति पनि त मैले नै नुहाइदिएको हो, बिर्सियौ ? यसरी रुनै पर्दैन, कति मज्जाले नुहाइदिन्छु ।
सुमन : तातो पानी है त ?
बुवा : हस ।
सुमन : अस्तिको जस्तै नुहाउने गीत पनि है त ?
बुवा : हुन्छ, गज्जब ! ....तातो पानी लिन जाउँ ?
सुमन : हुन्छ ।
आमा : अर्काे लुगा फेरिदिउँ ?
सुमन : नाईं, म नुहाउने । (आफैँ लुगा खोल्न थाल्छ ।) ....तपाईं तलै जानु, बाबासँग नुहाउने हो ।
आमा : लौ लौ, के जादु गर्नुभयो बाबाले ?
बुवा : खै त, उसैले खुसी भएर नुहाउँछु भन्यो ।
(बुवाले तातो पानी ल्याउँदा सुमनले लुगा खोलिसकेको छ । बुवाको खल्तीबाट मोबाइल झिकेर गीत बजाउँछ ।)
सुमन : तातो पानी हो बाबा ?
बुवा : हो, हो मनतातो छ । ...ल, ल किन
नाचेको ? भर्खरै नुहाएको मेरो जिउमा साबुनको फिँज नै फिँज लाग्यो ।
सुमन : नाईं म त, नाच्दै नाच्दै नुहाउँछु ।
बुवा : ल हेर, जिउबाट रङ नै रङ मिसिएको कस्तो फोहोर पानी आयो ।
सुमन : छ्या ! म त सधैँ नुहाउने हो.. .यसरी नाच्दै नाच्दै ।
सुमन : साबुन यु आकारको भइसक्यो बाबा ।
बुवा : हो त, पातलो भएर यस्तो भएको हो ।
बुवा : भोलि स्कुल जाँदा बाबु कति राम्रो देखिन्छ ...सफा, अरू जस्तो हो र ?
सुमन : साथीहरूले फोहोरी पनि भन्दैनन् । (आमा टावेल, तेलको कचौरा लिएर आउँछिन् ।)
आमा : बाबाले कसरी नुहाइदिनु भयो बाबु ? अहिलेसम्म नाच्दै छौ त !
बुवा : के गर्ने केटाकेटीलाई जसरी खुसी लाग्छ त्यसरी काम गर्न सिक्नु प¥यो ।
आमा : यति सजिलै नुहाउन मान्यो ? ...अचम्म !
सुमन : बाबाले नुहाउँदा आँखा पिरो भएन । टाउकोमा तीन पटक साबुन लगाको ।
आमा : मलाई पो हेपेको, बाबा भनेपछि मानेको होला नि ।
सुमन : हेपेको हैन के, हेपेको हैन । बाबाको मोबाइलमा नुहाउने गीत छ । (मोबाइलमा गीत बजायो ।)
सुमन : हो यही गीत बजाउनु । घुँडानेर टाउको राखेर, पहिला टाउको मात्रै नुहाइदिनु, आँखामा पानी पार्न पाइँदैन नि फेरि, त्यसपछि जिउ नुहाइदिनु । म गीत सुन्दै नाचीनाची नुहाउँछु ।
आमा : यस्तो पो हो तरिका ! मलाई पनि दिनु यसको नुहाउने गीत । कस्तो राम्रो नुहाउने गीत ।
सुमन : नुहाउने गीत भए तपाईंसँगै नुहाइहाल्छु नि ।
बुवा : यसो जिउ हल्लाको सुरमा खुरुखुरु नुहाउँछ ।
सुमन : (अलि ठूलो स्वरले पल्लो घरको साथीलाई) ...दीपक मलाई रङ नहान है, नुहाइसकेँ ।
समाप्त