• १३ साउन २०८१, आइतबार

नेपाल–भारत साझेदारीमा नयाँ अध्याय

blog

काठमाडौँ, जेठ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा नेपाल–भारत सम्बन्ध, साझेदारी विस्तार र ऊर्जा व्यापारमा नयाँ अध्याय खोल्ने गरी सफल भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका क्रममा भएका विभिन्न विषयमा उच्चस्तरीय सहमति भएका छन्। 

त्यस क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सात वटा विषयमा सम्झौता भएको छ। तिनमा ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत जाँच चौकी निर्माण, डिजिटल पेमेन्टसम्बन्धी क्षेत्र समेटिएका छन्। 

राष्ट्रिय समाचार समिति र अन्य विभिन्न सञ्चारमाध्यमले जनाए अनुसार नेपाल–भारत पारवहन सम्झौता नवीकरण भएको छ। सम्झौता नवीकरणसँगै नेपालको जल यातायातका साधन भारतीय जल मार्गमा जान पाउने भएका छन्। त्यस्तै सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगन्जबाट चितवनसम्म र सिलिगुडीबाट झापासम्म विस्तार गर्ने, चाँदनी–दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए तयार गर्ने, फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने, डिजिटल पेमेन्ट सम्झौता, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषमा स्वराज इन्स्टिच्युटबिच सहकार्य गर्ने सम्झौता भएका छन्। 

दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि नेपालका ऊर्जा उद्यमी तथा व्यवसायीले चाहेको दीर्घकालीन बिजुली व्यापारसम्बन्धी सहमति भएको जानकारी दिनुभयो। पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई आगामी तीन महिनाभित्र सहमति जुटाउन सम्बद्ध सरकारी अधिकारीलाई निर्देशन दिइएको छ। नेपाल र भारतबिच बिजुली व्यापारका लागि महत्त्वपूर्ण मानिएको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको दुई देशका प्रधानमन्त्रीले शिलान्यास गर्नुभयो। 

नेपालभित्र उत्पादित बिजुली १० वर्षमा १० हजार मेगावाट भारतीय बजारमा सहज रूपमा बिक्रीका लागि बाटो खोल्ने सम्झौता पनि भएको छ। प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतीय समकक्षी मोदी दुवैले बिजुली व्यापारसम्बन्धी दीर्घकालीन विषयमा सहमति भएको जानकारी दिनुभयो। भारतका प्रधानमन्त्री मोदीले नेपालको ऊर्जा व्यापारका सन्दर्भमा दुई देशबिच मार्ग प्रशस्त भएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबिच संयुक्त रूपमा न्यु बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना अगाडि बढाउने सहमतिले नेपालको बिजुलीको अन्तर्राष्ट्रिय बजार खोजीका लागि मार्ग प्रशस्त भएको छ। त्यस अनुसार माथिल्लो तामाकोशीलगायतका आयोजनाको बिजुलीसमेत भारतले खरिद गर्ने भएको छ।

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीले भारतको सहयोगमा नेपालगन्जमा निर्माण भएको एकीकृत जाँच चौकीको उद्घाटन र भैरहवाको जाँच चौकीको शिलान्यास गर्नुभयो। त्यस्तै विराटनगरमा रेल मार्गको उद्घाटन गर्नुभयो। यस्तै बैतडीको झुलाघाट नाकामा दुई वटा पक्की पुल निर्माण गर्ने पनि सहमति भएको छ। सो अवसरमा भारतका प्रधानमन्त्री मोदीले दुवै देशका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई वटा पुल बनाउने जानकारी दिनुभएको हो।