• २५ वैशाख २०८२, बिहिबार

उद्धार र खोजका लागि ७४ गोताखोर तयारी अवस्थामा

blog

गोरखापत्र समाचारदाता 

यो पनि पढ्नुहोस

काठमाडौँ, जेठ १८ गते । मनसुनजन्य प्रकोपबाट हुनसकक्ने मानवीय क्षति कम गर्न सशस्त्र प्रहरीले ७४ जना विशेष तालिम प्राप्त गोताखोर तयारी अवस्थामा राखेको छ । 

प्राकृतिक प्रकोपका कारण उत्पन्न हुने बाढी तथा डुबानमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा शुक्रबार थप २० जना नयाँ  प्रशिक्षार्थीले तालिम समापन गरेसँगै गोताखोरको सङ्ख्या ७४ पुगेको हो ।

गोताखोर तालिम समापन तथा खोज तथा उद्धारका लागि प्रयोग गरिने नमुना प्रदर्शनी समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन्दरतासँगै प्रचुर सम्भावना भएको नेपाल विपतको दृष्टिले जोखिमपूर्ण रहेको बताउनुभयो ।


उहाँले बाढी पहिरो, जल उत्पन्न प्रकोप, आगलागी तथा डुबान जस्ता अप्रत्याशित र अकल्पनीय घटनाका कारण उत्पन्न हुनसक्ने जोखिम र मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सुरक्षा निकायहरूले गरिरहेको पूर्व तयारीको प्रशंसा गर्नुभयो । 

मन्त्री श्रेष्ठले भन्नुभयो ‘‘विपत् व्यवस्थापन र उद्धार अत्यन्तै जोखिमपूर्ण काम हो, यस क्रममा उद्धारमा खटिनेको ज्यान पनि उत्तिकै खतरामा हुन्छ । आफ्नो ज्यानको प्रवाह नगरी नागरिकको ज्यान बचाउन तपाईँहरूको प्रयास अत्यन्तै उदाहरणीय र प्रशंसनीय छ ।’’

मन्त्री श्रेष्ठले मनसुन सुरु भएसँगै आउनसक्ने बाढी, पहिरो, डुबान तथा सडक सञ्जाल अवरुद्ध हुनसक्ने भएकाले  उद्धार तथा खोजकालागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभयो । 

उहाँले सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायले विपतका बेला देखाएको साहस र  नागरिकप्रतिको जिम्मेवारी बोधको समेत प्रशंसा गर्नुभयो ।

साथै उहाँले बाढी पहिरो र डुबानमा परेका व्यक्तिको खोज तथा उद्धारसँग आगलागी र जलनमा परेका व्यक्तिको उद्धारका लागि तालिमप्राप्त सुरक्षाकर्मी तयारी अवस्थामा राख्न सके क्षति कम गर्न सकिने बताउनुभयो । 

तालिम समापन गरेका २० जना गोताखोरलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तालिमको प्रमाणपत्र तथा ब्याच वितरण गर्नुभयो ।

सो अवसरमा नदीमा बेपत्ता भएकालाई तत्काल उद्धार गर्ने शैली ‘स्वीफ्ट वाटर रेक्यू’

खोचमा फसेकाको उद्धारसँगै विभिन्न कलात्मक प्रदर्शनी गरिएको थियो । 

बर्सेनि डुबानमा परी सयौँ व्यक्तिको ज्यान जाने र बेपत्ताहरूको खोजीका लागि २०११ मा सशस्त्र प्रहरी बल नेपालले बङ्गलादेशबाट तालिम लिएपछि नेपाली गोताखोर खोज तथा उद्धारमा परिचालन भएका हुन ।

यसअघि विदेशी गोताखोर झिकाउनुपर्ने बाध्यता थियो । 

नेपालमा नै तालिमप्राप्त सशस्त्र प्रहरी बलका गोताखोरहरूले पछिल्लो एक दशकमा मात्र बाढीजन्य प्रकोप र डुबानका २४३ बटा घटनामा ८०२ जना व्यक्तिको जीवितै उद्धार गरेका छन् ।

यसै गरी, सोही अवधिमा डुबानमा परी बेपत्ता बनेका ३१७ जना मृत शरीर पत्ता लगाई परिवारलाई जिम्मा लगाएको सशस्त्रले जनाएको छ । 

समारोहलाई सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले बाढी पहिरो , डुबानको खोज तथा उद्धारका लागि सातवटै प्रदेश तहमा तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राख्न सके मानवीय क्षति कम गर्न सकिने बताउनुभयो ।