• १६ चैत २०८०, शुक्रबार

नविल बैङ्कको ३८ शाखा एकसाथ सञ्चालनमा

blog

देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गर्नुहुँदै नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ १८ गते । नविल बैङ्कले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैङ्क स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।

बैङ्कले नविल बैङ्क अब तपाईँसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैङ्किङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा विस्तार गरिरहेको छ । कार्यक्रममा बोल्दै बैङ्कका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैङ्कको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरू प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताउनुभयो ।

बैङ्कका अध्यक्ष  पौडेलले बैङ्कको देशभर एकैसाथ ३८ वटा शाखा विस्तार गर्ने विषय सजिलो नरहेको जानकारी दिनुभयो । उहाँले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैङ्कहरूको शाखाहरू एकदमै कम भएको तर सरकारी बैङ्कका शाखा धेरै भएको बताउनुभयो । डिजिटल प्रविधिको कारणले बैङ्कहरूको धेरै शाखा र कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको बताउनुभयो ।

बैङ्कका अध्यक्ष  पौडेलले सरकार र राष्ट्र बैङ्कले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष पौडेलले अब बैङ्किङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले अबको बैङ्किङ आफ्ना लागि भन्दा पनि समाज र राष्ट्रका लागि गरेको योगदानको मापन गर्नुपर्ने अवस्था रहेको औँल्याउनुभयो । उहाँले बैङ्कका निक्षेपकर्ताहरुले आफूले बैङ्कमा राखेको पैसा के मा लगानी लगाइको छ भनेर जानकारी दिनु पर्ने बेला आएको भनाइ व्यक्त गर्नुभयो ।

बैङ्क ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै, कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैङ्कका शाखा कार्यालयको सङ्ख्या २५५ पुगेको छ ।