• १ जेठ २०८२, बिहिबार

आर्थिक ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल

blog

सुदूरपश्चिम प्रदेश सभा बैठक ।

अविनाश चौधरी

धनगढी, जेठ १८ गते। सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश सभामा छलफल गरिएको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीको प्रस्तावमा सो विधेयकमाथि छलफल गरिएको हो। छलफलमा प्रदेश सभा सदस्य मानबहादुर रावल, मानबहादुर धामी र लक्ष्मणकिशोर चौधरीले भाग लिनु भएको थियो। 

सवारी साधनलाई करको दायरामा ल्याउन र दुर्घटना घटाउनका लागि विधेयक महत्त्वपूर्ण रहेकाले चाँडै सदनबाट पास गर्नुपर्ने उहाँहरूको भनाइ थियो। छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिनु हुँदै मन्त्री शाहीले विद्युतीय सवारी साधनलाई करको दायरामा ल्याउन सान्दर्भिक देखेपछि मन्त्रालयले सदनमा विधेयक पेस गरेको बताउनुभयो। उहाँले यो विषय गत आर्थिक वर्षकै बजेटको क्रममा आउनुपर्नेमा त्यो बेला छुटेका हुनसक्ने उल्लेख गर्नुभयो।

प्रतिपक्षी दलले भने यो विधेयकमाथि छलफल हुनुपर्ने प्रस्तावको विपक्षमा आफ्नो मत जाहेर गरेका थिए। बहुमतका आधारमा प्रस्ताव पारित गरेर विधेयकमाथि छलफल गरिएको थियो। यसैगरी, प्रदेश सभा बैठकमा शून्य समय लिएर अक्कल रावल, इन्दिरा गिरी, प्रकाशबहादुर बम, शिवसिंह ओली, धर्मराज पाठकले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो। 

उहाँहरूले कैलालीको गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने मन्त्रीपरिषद्बाट निर्णय भई नीति तथा कार्यक्रममा पनि समावेश भएको बेला सरकारको बजेट वक्तव्यमा प्रतिष्ठान बनाउने कुरा आएकोप्रति आपत्ति जनाउनुभएको छ। यसलाई सच्याएर गेटालाई विश्वविद्यालयकै रूपमा अगाडि बढाउनु पर्ने भन्दै उहाँहरूले सङ्घीय सरकारको ध्यानाकर्षण गराउनु भएको छ।