• १६ चैत २०८०, शुक्रबार

विदेशमा कर्णालीका ६२ हजार

blog

काँक्रेविहार  समाचारदाता 

सुर्खेत, जेठ १८ गते । कर्णालीबाट विदेश बस्नेको जनसङ्ख्या अन्य प्रदेशभन्दा कम देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा वीरेन्द्रनगरमा बुधबार आयोजित राष्ट्रिय जनगणना–२०७८ को कर्णाली प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा सो जानकारी दिइएको हो। 

सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट चार लाख २० हजार ९०६ जना विदेशमा बसोबास गर्छन्। नतिजा अनुसार देशका १५ लाख ५५ हजार ९६१ परिवारका सदस्य विदेशमा बस्छन्। नेपालबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोबास गर्दै आएका देखिन्छ। तीमध्ये कर्णालीका ६२ हजार ७२८ परिवारबाट ९४ हजार ३२० जना विदेशमा बसोबास गर्दै आएका छन्। २०६८ को जनगणनामा कर्णालीबाट ६७ हजार ५८२ जना विदेशमा बसोबास गर्दै आएका थिए।

राष्ट्रिय जनगणना–२०७८ अनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ रहेको छ। तीमध्ये आठ लाख २३ हजार ७६१ पुरुष र आठ लाख ६४ हजार ६५१ महिलाको सङ्ख्या रहेको छ। यहाँ पुरुषको तुलनामा महिलाको जनसङ्ख्या बढी देखिन्छ। लैङ्गिक अनुपातमा प्रति एक सय जना महिलामा पुरुषको सङ्ख्या ९५.२७ प्रतिशत रहेको छ। २०६८ को जनगणनामा लैङ्गिक अनुपात ९५.६९ थियो। यस पटक गरिएको जनगणनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य लिङ्गी) लाई पनि समेटिएको छ। देशभरमा दुई हजार ९२८ सङ्ख्या रहेकोमा कर्णालीमा २.८ प्रतिशत रहेको छ। 

कर्णालीमा १० वर्ष वा सोभन्दा बढी उमेरका छ लाख ६८ हजार ७१५ जनामध्ये आर्थिक रूपमा सव्रिmय अक्सर रोजगारको सङ्ख्या छ लाख १८ हजार ४८७ रहेको छ भने ५० हजार २२८ जना बेरोजगार रहेको तथ्याङ्कले देखाएको छ। यीमध्ये विद्यार्थी भएकाले आर्थिक रूपमा काम नगर्नुको प्रमुख कारण देखाइएको छ। साथै वृद्ध अवस्था, पारिवारिक हेरचाह, अशक्त बिरामी, पेन्सन, सामाजिक कार्यलगायतका कारण रहेका छन्। पाँच वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्यामा ७६.१ प्रतिशत साक्षरता दर रहेको छ। त्यसध्ये सबैभन्दा बढी प्राथमिक तह (३०.९ प्रतिशत), दोस्रोमा निम्न माध्यमिक तह (२१.५ प्रतिशत), एसएलसी वा सोसरह (८.० प्रतिशत) र सोभन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरू १५.८ प्रतिशत रहेको तथ्याङ्क छ। 

कर्णालीमा वार्षिक औसत जनसङ्ख्या वृद्धिदर ०.७० रहेको छ। त्यसमध्ये सबैभन्दा बढी सुर्खेतमा १.६२ र सबैभन्दा कम दैलेखमा ०.३५ प्रतिशत रहेको छ। कर्णालीमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको जिल्ला सुर्खेतमा चार लाख १५ हजार १२६ छ। सबैभन्दा कम डोल्पामा ४२ हजार ७७४ रहेको छ। कर्णालीका ६१.४ प्रतिशत परिवार घरपरिसरमै र २४.१ प्रतिशत परिवारले मूल धाराबाट खानेपानी प्रयोग गर्ने गरेको तथ्याङ्क छ। ४९.६ प्रतिशत नागरिक ४९.६ प्रतिशत विद्युत्को पहुँचमा छन्, ४७.९ प्रतिशतले सौर्य ऊर्जा प्रयोग गरेका छन्।