• ६ वैशाख २०८१, बिहिबार

पोखरामा गुञ्जिए कालीप्रसाद

blog

पोखरा, जेठ १८ गते । गायक/सङ्गीतकार कालीप्रसाद बाँस्कोटा र उहाँको समूह किङ्स लाउन्ज पोखरामा गुञ्जिएको छ । लाउन्जको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बाँस्कोटाले आफ्ना पुरानादेखि नयाँ गीत दर्शकमाझ गाउनु भएको थियो ।

पिभिई नेटवर्कले व्यवस्थापन गरेको कार्यक्रममा उहाँले ‘अजम्बरी’, ‘माया पिरती’, ‘साली मन प-यो’, ‘लप्पन छप्पन’ र ‘पारि त्यो डाँडामाथि’ लगायतका गीत गाउनु भएको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरेपछि लाउन्ज दर्शकले भरिएको थियो ।

सङ्गीतकार बाँस्कोटाले नेपालसहित, भारत, अमेरिका, क्यानडा र अस्ट्रेलियामा साङ्गीतिक टुरको तयारी गरिरहनुभएको छ । लाउन्जका सञ्चालक ध्रुव केसीले विभिन्न चुनौती भए पनि लाउन्जले चार वर्ष पूरा गरेकोमा खुसी व्यक्त गर्नुभयो । पोखरामा किङ्स लाउन्जलाई उत्कृष्ट सेवा र परिकारका लागि चिनिन्छ ।