• ८ वैशाख २०८१, शनिबार

छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

blog

आधारभूत तह उत्तीर्ण भएका छात्राहरूलाई साइकल वितरण गरिँदै । तस्बिर: घनश्याम भर

कपिलवस्तु जेठ १७ गते । माध्यमिक तह अध्ययन गर्न सहज गराउन विजय नगर गाउँपालिकाले छात्राहरूलाई साइकल वितरण गरेको छ । आधारभूत तह उत्तीर्ण हुनुभएका दुई सय ८० छात्राहरूले उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन स्वरूप साइकल उपहार दिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । 

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको छ । पालिकाले ‘छोरी पडाऊ, छोरी बचाउ’ अभियान सञ्चालन गरी छात्राहरूको विद्यालय छाड्ने दर शून्यमा झार्ने अभियान चलाएको छ । आधारभूत तह अध्ययन पछि छात्राहरूले विद्यालय टाढा भएर छोड्ने, घरायसी काममा व्यस्त हुँदा माध्यमिक र उच्च शिक्षा अध्ययन नगर्ने प्रचलन रहेकोले ‘छोरी पडाऊ, छोरी बचाउ’ अभियान चलाएको थापाले बताउनुभयो । 

प्रदेश सरकार र विजय नगर गाउँपालिकाको संयुक्त साझेदारीमा उक्त सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । यसै गरी ४ सय ३२ जना छात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल र कक्षा ६ मा अध्ययनरत छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो । कक्षा ६ का विद्यार्थीलाई झोला, एक÷एक दर्जन कपी, कलम र कक्षा ९ विद्यार्थीलाई साइकल प्रदान गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छोरीले घरायसी काम मात्र सीमित नभएर उच्च शिक्षा र रोजगारीको अवसर समेत हासिल गर्न सक्ने वातावरण सिर्जना गर्न अवसर दिएको बताउनुभयो । ग्रामीण क्षेत्रका अभिभावकहरूले छात्राहरूलाई शिक्षामा लगानी गर्न चासो नदिने हुँदा पालिकाले योजना बनाई लागु गरेको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताउनुभयो । 

Author

जानु पाण्डे