• ७ वैशाख २०८१, शुक्रबार

आखिर रहेछ बिस्टा एक....

blog

कता–कताबाट ममा सुँगुर पाल्ने सोख पलायो । घरसंसारमा अनेक घरपालुवा जन्तुपन्छीहरू त थिए नै तर किनकिन अरू घरपालुवाभन्दा तुलनात्मक रूपमा भद्र, इमानदार र कर्तव्यनिष्ट सुँगुर हो भन्ने तìव बोध भयो र पालनपोषण गर्ने रुचि पलायो । 

एक दिन । मैले नितान्त बाल–सुँगुरलाई सुशोभित तरिकाले गृहप्रवेश गराएँ । बाल–सुँगुरको गृहप्रवेशसँगै अरू घरपालुवाहरू भने अस्वाभाविक ढङ्गले रूष्ट देखिन थाले । 

बाल–सुँगुरको गृह आगमन तिनीहरूका निम्ति अप्रत्याशित नै थियो । घृणास्पद नजरले समेत नियाल्ने थाले, बाल–सुँगुरलाई । स्वामिभक्तको अद्वितीय नमुना पेस गर्ने कुकुर मदेखि टाढा हुन थाल्यो । नभए त्यो कुकुर सधैँभरि मसित लुट्पुटिन चाहन्थ्यो ।

एउटा सुगा पालेको थिएँ, पिँजडाबन्द । उसले सधैँभरि गाउँथ्यो– ‘गोपी कृष्ण कहो ।’ म पनि उसको स्वरलहरीमा आफ्नो भद्दा स्वर मिसाउँदै भन्थेँ, ‘कहो, गोपीकृष्ण नै कहो । यो संसारमा गोपीकृष्णभन्दा कहने अरू कुन चिज छ र ?’ 

विडम्बना ! सुगाले पनि बन्द ग-यो– आफ्नो मीठास स्वरालाप । 

एक हिसाबले सुँगुरको आगमनलाई लिएर अरू घरपालुवाहरूले विद्रोहका मसिना झिक्रोहरूमा आगो सल्काउन थाले । 


दिन–प्रतिदिन सँुगुरले मेरो स्नेह एवं सद्भाव प्राप्त गर्दै गयो । एकाध दिन त मेरो स्नेह पाए पनि उसले कुनै प्रतिक्रिया जनाउन उचित ठानेन तर बिस्तारै मेरो अपार स्नेहका कारण उसले आफ्नो आनीबानीमा ताìिवक फरकपना ल्याउँदै गयो । अचम्म त के भइदियो भने उसको आगमनका कारण विद्रोही मनोदशामा उभिएका-असंवेदित मानवका रवैयाका कारण बच्छ्युँझैँ बिच्किएका अरू घरपालुवाहरूमा पनि क्रमशः सन्तुष्टिका अपार भावहरू देखिन थाले । 

मप्रति कुकुरको स्वाभिभक्ति पुनः ब्युँतियो । कोमामा व्यस्त बिरामीझैँ । सुगाले उही पुरानै लयमा स्वरलहरी गुन्जाउन थाल्यो र मतिर विनम्र नजरले हेर्दै र नियाल्दै रटाइएको भाषामा भन्न थाल्यो, ‘गोपीकृष्ण कहो...।’ खज्मजिएको लय पूरै फर्कियो । यी सबैका कारण थिए– तिनै सुँगुर र उसको समृद्ध आनीबानी ।   


म सुँगुरलाई हरेक कोण–प्रतिकोणबाट सभ्य बनाउन चाहन्थेँ । यही नै थियो, मेरो एक मात्र अभीष्ट । सबैका नजरमा असभ्य, फोहोरी र लद्दु प्राणीका रूपमा दृष्टिगोचर हुने, टीकाटिप्पणीको भागीदार बन्न बाध्य सुँगुरलाई म शतप्रतिशत रूपमै फेर्न चाहन्थेँ । ऊप्रति युगौँदेखि पसारिएको दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन चाहन्थेँ । अतः त्यसकै निम्ति म क्रियाशील थिएँ । 


बित्दै गए दिनहरू । हुँदाहुँदा उसमा अकल्पनीय परिवर्तनहरू आउँदै गयो । अरू घरपालुवाहरू पनि ऊप्रति मोहित र कृतज्ञ देखिन थाले र ऊसँग तत्क्षण नै घुलमिल हुन चाहे । उसको क्रियाकलापले ऊ एक बुद्धिमानी जीवमा परिवर्तित हुँदै गएको प्रत्याक्षानुभूति गर्न सकिन्थ्यो, सहजै । एउटा दब्बु जीव बुद्धिमानी हुँदै गएकोमा म पनि गौरवान्वित हुँदै गएँ । 


एक बुद्धिमानी जीव सुँगुरका निम्ति मेरो घरमा विशेष परिकारहरू पाक्न थाले । चौरासी व्यञ्जनभन्दा केही कम । उसको खान्की हेर्दा भने अरू घरपालुवाले सहजै डाह गर्दै, मनमनै कल्पन्थे सायद, ‘मीठो–मसिनो परिकार खान त सुँगुरकै जन्म लिनुपर्दो रहेछ ।’ सुँगुरले पाइरहेको विशिष्ट श्रेणीको खान्की देखेर घरपालुवाहरूले ममाथि बक्रदृष्टि पसार्न थालिसकेका थिए । 

विशिष्ट श्रेणीको खान्की ग्रहण गर्न पाइरहे पनि घरनिर्मित खानाप्रति उसको विशेष मोह भने कहिल्यै देखिएन । पूरै अरूचि । जतिसुकै स्वादिष्ट, मीठा र व्यञ्जनादीका खाना पस्किदिए पनि उसको अरूचिको सतह भने झन्झन् चुलिँदै गयो । 

म बेचैन रहेँ । सुँगुरको चौरासी व्यञ्जनप्रतिको अरुचिको कारण पत्ता लगाउन मलाई सकस पर्दै गयो । मैले सोचेँ, ‘कुनै पशु चिकित्सकलाई निम्त्याएर सुँगुरमा बढ्दो खाना–अरुचिको जड पत्ता लगाउनुप-यो ।’ 

‘तपाईंले अन्यथा लिनु हुन्न भने एउटा तरिका अपनाउनु पर्ला ।’ पशु चिकित्सकले केही उपाय निकालुँलाझैँ गरी भने । 

‘कस्तो तरिका ?’

‘यो बस्ती वरपर कतै दिसा–पिसाब गर्ने ठाउँ छ ?’

‘किन ?’

‘एक पटक त्यस्ता ठाउँमा हजुरको समादरणीय सुँगुरलाई एक दिवसीय भ्रमण गराउनुप¥यो । ताकि हजुरको सुँगुर महोदयको भ्रमण सार्थक र फलदायी रहोस् ।’

म पूरै असहमत भएँ र भनेँ, ‘अहँ, म त्यसो गर्न पटक्कै तयार छैन । मैले तिनै वातावरणबाट छुटाउन र टाढा राख्न यसलाई घरमा ल्याएर, मीठा–मीठा परिकार बनाएर ख्वाउन थालेको हुँ । यदि खुला रूपमा त्यस्ता ठाउँमा छाडिदिने हो भने त मेरो प्रयत्न र अभियान अनुत्तीर्ण भइहाल्छन् नि ! म त्यसो गर्न सक्दिनँ । कदापि... कदापि...।’

‘अर्को उपाय पनि छ...।’

‘कस्तो उपाय ?’

‘यो सुँगुरले घरको खाना नरुचाएको हुनसक्छ । कुनै कुनै जीवजन्तुहरूमा यस्ता समस्या पनि देखेको छु मैले ।’ ती पशु चिकित्सकले आफ्नो अनुभव बाँड्दै भने, ‘मैले एक जना व्यक्तिको घरमा यस्तो कुकुर देखेको थिएँ, जसले घरमा पकाएका मःमः, चाउमिन, पिज्जा पूरै बहिष्कार गथ्र्यो तर होटल वा रेस्टुरेन्टको मःमः, चाउमिन वा पिज्जा भनेपछि हुरुक्कै । कपाकप खाने । तपाईंले पनि एक पटक यो सुँगुरलाई होटल वा रेस्टुरेन्टको स्वाद चखाउन चाहनु हुन्छ कि ?’ 

‘ओहो ! कस्तो गुड आइडिया ।’ मैले प्रशन्नता व्यक्त गर्दै भनेँ । 

मेरो दिनचर्यामा आंशिक परिवर्तन आयो । मैले सुँगुरलाई विभिन्न होटल र रेस्टुरेन्टहरूमा लगेर भोजन गराउन थालेँ । होटल–रेस्टुरेन्टहरूमा रैथानदेखि विदेशी खानेकुरासम्म पाइन्थे । मैले भरिसक्य सबै स्वादसँग उसलाई परिचित गराउन चाहेँ । महँगादेखि सस्ता, सबै मूल्यदरका होटल–रेस्टुरेन्टहरूमा लिएर गएँ । तर केही होटल–रेस्टुरेन्टहरूमा भने सामान्य व्यवधान पनि झेल्नुप-यो । 

‘ए, तपाईंले यो सुँगुरलाई किन हाम्रो रेस्टुरेन्टमा ल्याउनुभएको ?’ एक दिन सुँगुरलाई डो¥याएर म एउटा नामुद रेस्टुरेन्टभित्र छिर्दै गर्दा सेक्युरिटी–गार्डले मलाई र सुँगुर दुवैलाई हठात् रूपमा रोक्दै सोधे । 

‘भोजन ग्रहण गराउन ।’ मैले गर्वसाथ सङ्क्षिप्त जवाफ दिँदै भनेँ । 

‘अहिले सम्भव छैन ।’ सेक्युरिटी–गार्डले रवाफिलो स्वर निकाले । 

‘किन ?’

‘किनभने यो रेस्टुरेन्टमा उब्रिएका बासी खानेकुराहरू अरूले बिहानै लगिसके । दिनदिनै एक जना मानिसले यस्तै सुँगुरहरूलाई ख्वाउन लिएर जान्छन् ।’ सेक्युरिटी–गार्डले भने । 

‘यो बासी–तासी होइन, ताजा खानेकुरा खाने सुँगुर हो ।’ मैले सेक्युरिटी–गार्डलाई भनेँ, ‘यो अरूजस्तो सामान्य सुँगुर होइन, भाइ ! यो त मैले पालनपोषण गरेर हुर्काएको बुद्धिमानी सुँगुर हो । अरू दुई कौडीका सुँगुरजस्तो नठान यसलाई ।’

सेक्युरिटी–गार्ड केही हच्किए र मलाई र सुँगुरलाई रेस्टुरेन्टभित्र सहज रूपमा प्रवेश दिए । 

रेस्टुरेन्टको खुला ठाउँमा पुगेपछि मैले वेटरलाई अर्डर गर्दै भनेँ, ‘भाइ ! यो रेस्टुरेन्टको सबभन्दा राम्रो परिकार के हो ? त्यो परिकार एक प्लेट ल्याऊ त ।’

‘यो रेस्टुरेन्टका सबै परिकार मीठा हुन्छन् । हामी नमीठो बनाउँदैनौँ । बरु हजुरलाई के मन पर्छ, मेनु हेर्नुस् न ।’ वेटरले भने । 

‘मलाई मन परेर भएन, यो सुँगुरलाई मन पर्नुप-यो । मैले खान खोजेको होइन, यो सुँगुरलाई ख्वाउन ल्याएको हुँ ।’ मैले नजिकैको भुइँमा उत्सुक नजर घुमाउँदै बसिरहेको सुँगुरतिर हेर्दै भनेँ । 

त्यो रेस्टुरेन्टको वातावरण एकदमै राम्रो थियो । करिब–करिब पारिवारिक । परिकार पनि राम्रै । तर पनि सुँगुरले खानमा त्यति रुचि देखाएन । उसले केही क्षण उत्सुकतापूर्वक सुँघ्ने काम ग-यो र अलिअलि ग्रहण गरेपछि उदासीन तरिकाले थुतुनो बटा-यो । 

म र सुँगुर सँगै घर फर्कियौँ । घर फर्केपछि मैले सोचेँ, ‘त्यो रेस्टुरेन्टको खाना यसले मन पराएन खासै । अरू दुई–चारवटा होटल र रेस्टुरेन्टतिर पनि लैजानुप-यो ।’ 

अर्को दिन, काठमाडौँको एउटा महँगो होटलमा लिएर गएँ । भव्य थियो होटल । करिब–करिब पाँचतारे नै । तर होटलको गेटमा पुगेपछि फेरि सेक्युरिटी–गार्डको अवरोध झेल्नुप-यो ।

‘यो सुँगुरलाई भित्र लैजान पाइँदैन ।’

‘किन ?’

‘होटलभित्र मानिसहरूलाई मात्र छिर्ने अनुमति छ । कुनै जीव–जन्तु आदिलाई प्रवेश दिने गरिएको छैन ।’ नजिकैको एउटा बोर्डतिर देखाउँदै ती सेक्युरिटी–गार्डले भने, ‘ऊ त्यो सूचना हेर्नुस्, त्यहाँ सबै नियम लेखिएको छ ।’

हो रहेछ । मानिसबाहेक अरू जीव–जन्तुहरूलाई पूर्ण रूपमा त होइन, आंशिक रूपमा होटल प्रवेशमा रोक लगाइएको रहेछ । कुनै–कुनै सम्भ्रान्त परिवारले आफ्ना सवारी साधनमा कुकुरहरू ल्याउँदा भने होटल प्रवेशमा कुनै रोकतोक नगरिने रहेछ ।

‘कहिलेकाहीँ कुकुरसम्मले प्रवेश पाउँछ । तर सुँगुरलाई अहिलेसम्म हामीले होटलमा पस्न दिएका छैनौँ ।’ सेक्युरिटी–गार्डले भने । 

‘यो चानचुने सुँगुर होइन, भाइ ! यो त अति नै बुद्धिमानी सुँगुर हो ।’

‘बुद्धिमानी भए पनि, मूर्ख भए पनि सुँगुर आखिरमा सुँगुर नै हो, हजुर ! यो कति बुद्धिमानी हो र कति मूर्ख हो भन्ने कुराको कसले जाँच–पड्ताल गरेका छन् र ?’ सेक्युरिटी–गाडीले अविश्वास गर्दै भने । 

‘तिम्ले यो सुँगुरलाई सामान्य ठानेका हौ ?’

‘अँ, अरू सुँगुरजस्तै देखिन्छ त ।’ 

‘यो देशकै प्रतिष्ठित सुँगुर हो । दुई पटक गोर्खा दक्षिणबाहु र एक पटक त्रिशक्ति पट्टद्वारा विभूषित भइसकेको छ । अरू सामान्य पदक, मान–सम्मान त कतिकति !’ मैले सेक्युरिटी–गार्डको भर्खर पालिस लगाएर चम्किएको जुत्तातिर आँखा दौडाउँदै भनेँ । 

सेक्युरिटी–गार्ड अवाक् देखिए र कुनै प्रतिक्रिया जनाउन सकेनन् । मैले सुँगुरलाई होटलभित्र लिएर गएँ । 

होटलको भव्यता देखेर म चकित परेँ । सुँगुर त झनै चकित । मैले वेटरलाई भनेँ, ‘यो होटलको सबभन्दा मीठो परिकार के हो, भाइ !’

‘रोगनजोश बन्छ, असाध्यै मीठो ।’

‘हैन, भेजमा चाहियो । यो सुँगुरका लागि हो ।’

‘सरी सर ! सुँगुरका लागि त हामीकहाँ कुनै परिकार छैनन् । सबै मान्छेहरूका लागि मात्रै बन्छ ।’ 

ती वेटरले मुस्कुराउँदै भने, ‘सरले यो होटललाई पशुहरूको होटल ठान्नु भा’जस्तो छ । सरी, यो त मान्छेहरूका होटल हो ।’ 

‘मलाई थाहा छ, यो मान्छेहरूकै लागि परिकार पाक्ने होटल हो । तर मेरो सुँगुरले घरको खानेकुरा बहिष्कार ग-यो । कतै होटल–रेस्टुरेन्टतिर लगेर ख्वाए हुन्थ्यो कि भन्ने लागेर लिएर आएको हुँ ।’ मैले भनेँ । 

‘म केही मीठो परिकारको व्यवस्था गर्नेछु ।’ सुँगुरतिर हेर्दै उनले भने, ‘यसलाई मन पर्ने खाना म तयार पार्छु ।’

अहँ, त्यो महँगो होटलको खानाप्रति पनि सुँगुरको जिब्रो लोभिन सकेन । अरू केही होटल–रेस्टुरेन्टहरूतिर पनि लिएर गएँ । कुनै पनि होटल–रेस्टुरेन्टका परिकारहरूले उसलाई लोभ्याउन सकेन ।  

म निराश थिएँ । निराशाको त्यान्द्रोमा तुर्लुङ्ग झुन्डिएको माकुरोझँै । अतः खानाप्रतिको अरुचिका कारण सुँगुरको स्वास्थ्य–स्थिति दिनदिनै खस्किँदै गइरहेको थियो । मैले पुनः पशु चिकित्सकलाई निम्त्याएँ । अरू विकल्प थिएन । 

‘प्रायः सबै होटल–रेस्टुरेन्टमा डुलाएँ । तर कुनै पनि ठाउँको खाना रुचाएन यसले ।’ मैले हैरान हुँदै भनेँ । 

‘म एक पटक यसको होलबडी चेक गर्छु । कतै पेटमा गड्बडी भएर खान नरुचाएको हो कि ? कतै घ्राण शक्ति क्षीण भएर वा जिब्रोमा कुनै खराबी आएर मीठा–मीठा परिकारका स्वाद र गन्धप्रति यसले रुचि नदेखाएको हो कि ?’ पशु चिकित्सकले विभिन्न आशङ्का उमार्न थाले । होलबडी चेकका निम्ति आफ्नै क्लिनिकमा लिएर आउन सुझाव दिँदै मसित बिदा भए । 

पशु चिकित्सकले सुझाव दिएको केही दिनपछि नै मैले पशु क्लिनिकमा सुँगुरलाई लिएर गएँ । पशु चिकित्सकले पूरै शरीर जाँच गरे । जाँच गरिसकेपछि उनले भने, ‘अहँ, कुनै खराबी देखिएन । तर खानामा अरुचि देखाएको हुँदा कमजोर भने बन्दै गएको छ । यसरी नै कमजोर बन्दै जाने हो भने केही पनि भन्न सकिँदैन ।’ 

‘खानाप्रति रुचि बढाउने ओखती ख्वाए हुन्छ कि ?’ मैले भनेँ । 

‘ओखतीले पनि केही हुँदैन । यसलाई मन पर्ने खाना नखुवाउन्जेल शरीरमा कुनै तागत आउँदैन र कमजोर नै भइरहन्छ ।’ पशु चिकित्सकले भने । 

‘के उपाय हुनसक्छ त ?’

‘मैले तपाईंलाई पहिले पनि एउटा उपाय बताइसकेको छु । करिब एक हप्ताजति कुनै खुला दिसा–पिसाब क्षेत्रतिर यसलाई भ्रमण गराउनुस् । त्यसबाट कस्तो परिणाम आउँछ, हेरौँ । तब बल्ल थाहा हुन्छ ।’ पशु चिकित्सकले भने । 

‘त्यस्तै गर्ने र भन्या !’ मैले अनुहारको भावभङ्गी बिगार्दै भनेँ । 

‘बचाउनका लागि केही न केही त गर्नुप¥यो नि !’

‘त्यसो गर्दा त यो सुँगुर नै हुने भो । यसलाई चेन्ज गराउन नसकिने भो ।’ मैले लाचारी प्रकट गर्दै भनेँ । 

‘सुँगुरको मनोविज्ञान बुझ्न निकै कठिन हुन्छ । तपाईं अरू जीवहरूका मनोविज्ञान सहज रूपमा, तत्काल बुझ्न सक्नुहुनेछ । तर सुँगुर भने यस्तो जीव हो, जसको मनोविज्ञान बुझ्न तपाईंलाई चट्टान फोडेझैँ कठिन र दुरुह हुन्छ ।’ पशु चिकित्सकले समृद्ध मुस्कान मसामु पस्किँदै भने । 


अन्ततः मैले पशु चिकित्सकको परामर्शलाई उचित ठानेँ र शिरोधार्य पनि गरेँ । 

मेरो घरभन्दा एकाध घण्टाको दूरीमा थियो– खुला दिसा–पिसाब क्षेत्र । अरू थलो दिसा–पिसाबमुक्त क्षेत्र घोषणा गरिए पनि त्यस क्षेत्र भने अझ कसैको नजरमा परिसकेको थिएन । 

एक प्रातः कालीन भ्रमणमा मैले मेरो प्रिय सुँगुरलाई डो-याउँदै त्यही खुला दिसा–पिसाब क्षेत्रमा लिएर गएँ । म केही वरै बसेँ र त्यस क्षेत्रमा विचरण गर्न सुँगुरलाई छाडिदिएँ । सम्भवतः उसको घ्राण शक्ति मजबुत बन्यो होला– क्षणभरमा नै त्यस क्षेत्रमा दौडिँदै पुग्यो र यताउति चहार्दै भोजन ग्रहण गर्न थाल्यो । 

करिब आधा घण्टाजति त्यो बुद्धिमानी सुँगुर त्यसै क्षेत्रमा व्यस्त रह्यो । त्यसपछि म जहाँ बसेको थिएँ, त्यहाँ बिस्तारै, प्रफुल्ल मुखाकृति पस्किँदै र शरीरमा स्फूर्तिका अङ्कुरहरू प्रस्फुटित तुल्याउँदै फर्कियो । फर्किंदै गर्दा उसले देवकोटाका यी काव्य–पङ्क्तिलाई ‘रिमिक्स’ गरेर गुन्गुनाउँदै थियो–

‘रहेछ संसार निशा समान

आएन ज्युँदै रहँदा नि ज्ञान

आखिर रहेछ बिस्टा नै एक

न भक्ति भो, ज्ञान न भो विवेक ।’