• ६ जेठ २०८१, आइतबार

काठमाडौंमा आजदेखि रोजगार मेला सुरु (फोटो फिचर)

blog

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा सुरु भएको रोजगार मेला । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ १६ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौंमा आज (मङ्गलबार)देखि रोजगार मेला सुरु भएको छ । टेकुस्थित महासङ्घको कार्यालयमा जेठ १६ र १७ गते मेला हुने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा रोजगार मेला सुरु भएको हो । मेलाको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरू बीचमा पुलको काम गर्ने बताउनुभयो ।


अध्यक्ष ढकालले महासङ्घले वीरगञ्ज र बुटवलमा रोजगार मेला सम्पन्न गरेको र राम्रो प्रतिक्रिया पाएको जानकारी दिनुभयो । उहाँले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउनु सहयोग पुर्‍याउने बताउनुभयो । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगार मेलाले रोक्नसक्ने उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटमा समेत निजी क्षेत्रको मनोबल उच्च राख्न हरेक क्षेत्रबाट सरकार सहयोग गर्ने उल्लेख गरेको बताउनुभयो । उहाँले सरकारले ल्याएको बजेटले निजी क्षेत्रको सहकार्य आवश्यकता औँल्याएको जानकारी दिनुभयो । अध्यक्ष ढकालले बजेटले स्टार्टअप र सीप विकासका विषयमा बजेटमा समेटेका विषय निजी क्षेत्रले उठाएको बताउनुभयो ।


यस्तै, मेलामा आफूले खोजेको जस्तो रोजगार पाइने आशामा मेलामा आउनुभएका प्रतिज्ञा घिमिरेले रोजगार मेलाले पछिल्लो समय बढ्दै गएको बेरोजगारीको समस्या थोरै भए पनि कम हुने बताउनुभयो । उहाँले आफूलाई आवश्यक परेको जस्तो रोजगार पाउन सकिने आशाले मेलामा आएको जानकारी दिनुभयो ।

घिमिरेले मुलुकभित्र नै रोजगारी नपाएर विदेश जाने युवाहरू बढेको भन्दै मेलामा आएर कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको भन्ने बुझ्न सकिने भएकाले मेलामा आएको बताउनु भयो ।

यस्तै, हिरामाया श्रेष्ठले अनलाइनहरूमा फेक रोजगारी प्रचार हुने भएकाले मेलामा प्रत्यक्ष रूपमा बुझ्न पाउने भएकाले मेलामा आएको बताउनुभयो । उहाँले किसानदेखि भान्सासम्म सब्जी ल्याण्डमा रोजगारी पाएको औँल्याउनुभयो । उहाँले विदेश जानुभन्दा पनि नेपालमा नै रोजगारी खोजेर बस्नसके मुलुक राम्रो हुने बताउनुभयो ।


मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासङ्घका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य सङ्घको सहकार्य रहेको छ । कामको खोजीमा रहेका युवाहरूलाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला सुरु भएको छ ।

रोजगार मेलामा एक सयभन्दा बढी कम्पनीहरूको सहभागिता रहेका छन् । महासङ्घले मेलामा कामको खोजीमा रहेका पाँच हजारभन्दा बढी युवाहरूलाई अवलोकन गराउने लक्ष्य राखिएको छ । मेलामा रोजगारी, सीप एवम् जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श सेसनहरू समेत हुनेछ ।