एक समयको कुरा हो, कक्षा ५ मा पढ्ने सौरभ नामको एउटा केटा थियो । साथीहरूलाई जिस्क्याउन, झगडा गर्न अनि दुःख दिनमा उसलाई निक्कै आनन्द आउथ्यो । आफ्ना कारणले अरूले दुःख पाएको र रोएको देख्दा उसलाई निकै रमाइलो लाग्थ्यो । सौरभको गलत स्वभावका कारण उसलाई कसैले पनि मन पराउँदैन थिए । उसको उदण्ड स्वभावका कारण उसको सामुन्नेमा केही भन्न नसके पनि सबैले सौरभलाई गाली गर्ने र सराप्ने गर्दथे । विद्यालयका शिक्षक, घरपरिवार, साथी, आफन्ती जसले सम्झाउँदा पनि सौरभले कहिल्यै पनि आफ्नो गलत स्वभाव बदल्ने प्रयत्न गरेन । बरु दिनप्रतिदिन बिग्रँदै गयो ।
गलत काम गर्दा कहिलेकाहीँ सौरभले शिक्षक र घरपरिवारबाट सजाय पनि पाउथ्यो तर जतिसुकै सजाय पाए पनि उसले आफूलाई सुधार्ने कुनै पनि प्रयास गरेन । सौरभलाई सम्झाउनु र कुनै निर्जीव वस्तुलाई सम्झाउनुमा कुनै पनि फरक थिएन । ‘बरु गधालाई गाई बनाउन सकिएला तर सौरभलाई कहिल्यै पनि मान्छे बनाउन सकिँदैन’ उसको उदण्डताले सीमा नाघेको बेलामा शिक्षकहरू एकआपसमा सौरभको स्वभावलाई लिएर कुरा गरिरहेका हुन्थे । सबैको आँखामा बिझाउँदा पनि सौरभलाई सुध्रिन मन नै लागेन ।
दिन प्रतिदिन सौरभको बानी बिग्रदै गएकाप्रति आमाबुवा निकै चिन्तित थिए । उनीहरूले सौरभको विद्यालय परिवर्तन गर्ने सोच बनाए । गाउँदेखि केही पर अनुशासनलाई प्राथमिकता दिने एउटा विशेष विद्यालय खुलेको उनीहरूले सुनेका थिए । सौरभको बिग्रँदो स्वभाव परिवर्तन हुन्छ कि भनेर त्यही भर्ना गरिदिए । पहिला त उसले विद्यालय परिवर्तन गर्न मानेको थिएन तर बाबुआमाले विशेष खालको विद्यालय भनेपछि उसमा केही उत्साह थपियो । जतिसुकै उदण्ड भए पनि केही नयाँ र सिर्जनात्मक काम गर्नुपर्दछ भन्ने सौरभको स्वभाव भने थियो ।
सौरभ जब पहिलो दिन विद्यालय पुग्यो, उसलाई त्यहाँ निकै आश्चर्य लाग्यो । उसले योभन्दा अगाडि देखेका विद्यालयभन्दा यो नितान्त फरक विद्यालय थियो । त्यहाँ न डेस्क र बेन्च थिए, न त किताब र शिक्षक नै । चारैतिर पर्खालले बार लगाएको एउटा ठूलो चौर थियो र त्यहाँ विद्यार्थीहरू समूह बनाएर आफ्नै ढङ्गले खेल खेलिरहेका थिए । पढ्न भनेर गएको विद्यालयमा सबै जना खेलेको मात्रै देख्दा उसलाई रमाइलो लाग्यो । विद्यालयमा अचम्मलाग्दो दृश्य देखेपछि सौरभ तिनछक्क प-यो । उसले आफ्नो नजिकै दौडिरहेको एउटा विद्यार्थीलाई सोध्यो, “यहाँ कक्षाकोठाहरू कहाँ छन् ? शिक्षकहरू कहाँ छन् ?”
दौडिरहेका पाइला रोक्दै विद्यार्थीले भन्यो “यहाँ कुनै पनि कक्षाकोठा छैनन् । यो त अनुशासनको विद्यालय हो । हामीले खेल खेलेर र खेलका विभिन्न नियमहरू पालना गरेर नयाँ कुरा सिक्छौ ।” उसको कुरा सुनेर सौरभलाई अचम्म लाग्यो । ‘खेलेर पनि पढाइ हुन्छ त ?’ उसले मनमनै प्रश्न ग¥यो । उसले खेलिरहेको केटालाई थप प्रश्न गर्नुभन्दा उनीहरूसँगै खेलमा सामेल भएर सिक्ने सोच बनायो ।
खेलमा सबैले अनुशासनको पालना अनिवार्य रूपमा गर्नु पर्दथ्यो । जसले खेलको नियम तोड्ने प्रयास गथ्र्यो उसलाई चौरको एउटा कुनामा बस्न लगाएर खेलबाट वञ्चित गरिन्थ्यो । नानीदेखि लागेको बानी भनेजस्तै सुरुमा त सौरभले खेलभन्दा पनि कसरी अनुशासन तोड्ने भन्ने कुरामा नै ध्यान दियो तर नियम तोड्ने बित्तिकै उसलाई खेलबाट वञ्चित गरिन्थ्यो । साथीहरू सबै खेलेर आफू मात्रै नखेल्दा सौरभलाई नरमाइलो लाग्यो र विस्तारै उसले खेलका नियमहरू पालना गर्नतिर ध्यान दियो । अनुशासित ढङ्गले खेल खेल्दा उसलाई खेल्नबाट वञ्चित हुनुपरेन । अरू अनुशासित विद्यार्थीहरू जस्तै उसले पनि खेलको पूर्ण मज्जा लियो ।
खेलमा रमाउँदै जाँदा विस्तारै सौरभ अनुशासित पनि हुँदै गयो । खेलमा अनुशासनको पालना गर्दा गर्दा सौरभलाई घरपरिवार र साथीसँग पनि अनुशासित हुने स्वभावको विकास भइरहेको थियो । अनुशासनले सौरभलाई सबैको प्यारो मात्रै बनाएको थिएन हरेक कुरामा जिम्मेवार पनि बनाएको थियो । उसलाई कसरी सकारात्मक ढङ्गले जीवन अगाडि बढाउने भन्ने ऊर्जा प्राप्त भएको थियो । जीवन सम्बन्ध बिगारेर होइन सबैसँग मिलेर अनि मिठो बोलेर पो सुन्दर हुँदो रहेछ भन्ने कुराको चेत उसलाई खुल्यो । त्यसपछि उसले कसैलाई पनि नराम्रो व्यवहार गरेन । सबैसँग मिलेर बस्यो । छोरामा आएको परिवर्तन देखेर बाबाआमा निकै खुसी भए ।