• ८ मंसिर २०८१, शनिबार

दर्शक पाउनै धौ धौ

blog

काठमाडौँ, जेठ १५ गते । नेपाली चलचित्रमा दर्शकले खोज्ने भनेको राम्रो कथावस्तु र मनोरञ्जन नै हो जुन अहिले फेरि खस्किन थालेको प्रतीत हुन्छ । पछिल्ला केही समयमा केही यस्ता चलचित्र पनि आए जसले दर्शकको मन मात्र जितेनन् व्यावसायिक रूपमा पनि उल्लेखनीय सफलता हात पा¥यो । महापुरुष, कबड्डी ४, छक्कापञ्जा ४, जारी त्यसका उदाहरण हुन् तर अहिले प्रदर्शनमा रहेका ‘प्रसाद २’, ‘हल्कारा’, ‘हुक्का’, र ‘टुल्की’ चलचित्रले भने खासै दर्शक तान्न सकेका छैनन् । प्रदर्शनको तयारीमा रहेका ‘नाङ्गो गाउँ’ ‘भष्मे डन’ ‘दिमाग खराब’ ‘महाजात्रा’ लगायतका चलचित्रको मूल्याङ्कन हुनै बाँकी छ । 

विषयवस्तु र गुणस्तरमा सुधार नआउनु, भारतीय चलचित्रको नक्कल गर्नु, सम्भावित दर्शक रोजगारीका लागि बिदेसिनु जस्ता कारणले यति बेला नेपाली चलचित्रले बजार नपाएका हुन् । बजार र दर्शकको रुचि अनुसारको अनुसन्धान नहुनु पनि अर्को कारण हो । अन्य उत्पादनमा ४०÷५० लाख रुपियाँ लगानी गर्दा नाफा त होला तर कसैले चिन्दैन, चलचित्रमा लगानी गरेपछि चाँडै चर्चित भइन्छ भनेर आउने यहाँ धेरै छन् । नेपाली चलचित्रका खाँटी दर्शक रहेका साना सहरका युवा रोजगारीका लागि विदेश जानुले पनि व्यापार घटेको चलचित्रकर्मी स्वीकार्छन् । 

निर्देशक केपी पाठक भन्नुहुन्छ, “निम्न र मध्यमस्तरका हाम्रा धेरै दर्शक नेपाली चलचित्र हेर्न चलचित्र भवनसम्म पुग्दैनन् ।” भारतीय चलचित्र हेर्ने ठूलो जमातलाई तान्न नसक्दा पनि व्यापार प्रभावित भएको हुनसक्छ । “हाम्रा आफ्नो कथा, आफ्नै शैलीका चलचित्र पनि बन्न थालेका छन् तर चलचित्रमा लगानी चाहे जति गर्न नसकेर पनि केही खस्कन थालेका हुन् कि ? उहाँ प्रतिप्रश्न गर्नुहुन्छ,”  “फेरि हाम्रा चलचित्रले भन्दा भारतीय र हउिलडका चलचित्रले राम्रो सो पाउनुले पनि नेपाली चलचित्र प्रभावित भएको हुनसक्छ ।”

पेसागत र व्यावसायिक रूपमा लगानी गर्ने नआएकाले पनि चलचित्र क्षेत्र फस्टाउन नसकेको यथार्थ हो । नाफाघाटाको जोडघटाउ गरेर आउने यहाँ कमै छन् । चलचित्र चलाउन विषयवस्तुभन्दा पनि नायकनायिकाको टाउको बेच्ने होडले गर्दा नेपाली चलचित्र माथि उठ्न नसकेको चलचित्रकर्मी नै स्वीकार्छन् । 

पहिला राजेश हमाल, विराज भट्ट, रेखा थापालाई अभिनय गरायो भने चलचित्र बिक्छ भन्ने त्यही प्रवृत्ति अहिले फेरि दयाहाङ राई, विपीन कार्की, अनमोल केसी, केकी अधिकारीलगायतमा लागु हुन थालेको छ । यस्तो किसिमको मान्यताले पनि नेपाली चलचित्र क्षेत्रमा परिवर्तन नआएको धेरैको ठम्याइ छ । अहिले नयाँ निर्माताको प्रवेशले चलचित्र बन्ने क्रम झनै बढेको छ । ग्ल्यामरको आकर्षण, कलाकारसँगको हिमचिम र सञ्चारमाध्यममा छाउने लोभले जसरी लगानी गर्नेहरू आएका छन्, त्यसरी नै पलायन पनि भइरहेका छन् । हरेक वर्ष लगानी डुबेकै हुन्छ । लगानी बालुवामा पानीसरह भएपछि कसैले पनि दोहो-याएर चलचित्र बनाउने आँट गर्दैन । निर्माता छवीराज ओझा चलचित्रको बजार र दर्शक सीमित भएकाले धेरै निर्माताको लगानी फिर्ता हुन नसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजार र दर्शकको तुलनामा धेरै चलचित्र बन्दा पनि यस्तो अवस्था आएको हो ।” बदलिँदो समाजको परिवेशलाई मौलिक रूपमा उतार्न नेपाली चलचित्रको कथावस्तु र प्रस्तुतिले सकिरहेको छैन । चलचित्र निर्माण गर्ने हात नेपाली नै हुन् । मुद्रा पनि नेपालीकै हो । नेपाली चलचित्रमा बोलिने भाषा नेपाली नै हो । त्यसको हाँसो, रोदन र बाँडिने सपना पनि नेपाली हो तर धेरै दर्शकले नेपाली चलचित्र हेर्न छाडेकाले यस्तो अवस्था आएको चलचित्रकर्मीको ठम्याइ छ ।