• ११ पुस २०८१, बिहिबार

महावु खानेपानी आयोजना निर्माणमा ढिलाइ

blog

महावु गाउँपालिकामा निर्माणाधीन महावु खानेपानी आयोजनामा काम गर्दै मजदुर । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, जेठ १३ गते । महावु गाउँपालिकाका एक हजार नौ सय २९ घर परिवारलाई खानेपानी खुवाउने उद्देश्यले सुरु गरिएको महावु बृहद खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर सुर्खेतमार्फत सञ्चालित आयोजनाको निर्माणको जिम्मा  पराजुली जिएस्, इन्जिनियरिङ जेभी पोखरा –५ कास्कीले पाएको छ । 

निर्माण कम्पनीले तोकेको समयभित्र निर्माण कार्य नगरी ढिलासुस्ती गरेको भन्दै सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर सुर्खेतले निर्माणको जिम्मा पाएको पराजुली जिएस्ले काममा गति दिन नसकेको भन्दै संशोधित कार्यतालिकासहित ताकेता पत्र पठाएको छ । 

पत्रमा भनिएको छ, “आयोजनाको फिल्ड अनुगमन गर्दा कामको प्रगति सन्तोषजनक नदेखिएकाले निर्माण कार्यको मासिक कार्यतालिका सहित द्रुतगतिमा काम सक्न ताकेता गरिएको छ । 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर सुर्खेतका इन्जिनियर सुरेन्द्र शर्माले आयोजना निर्माणको जिम्मा पाएको कम्पनीलाई छिटोभन्दा छिटो काम सक्न ताकेता गरिएको बताउनुभयो । आयोजनाले काम गरिरहेको भए पनि गतिका साथ काम नभएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “ट्याङ्की निर्माण, पाइपलाइन खन्ने, मुहानमा च्याम्वर बनाउने कामहरू भइरहेका छन् अब कामले गति लिनेमा कार्यालय विश्वस्त रहेको छ । पराजुली जिएस्, इन्जिनियरिङ जेभी पोखरा –५ कास्कीका प्रोप्राइटर इन्जिनियर ज्ञानेन्द्र घिमिरेले प्राविधिक स्टेटमेन्ट समस्या भएका कारण आयोजना निर्माणमा ढिलाइ भएको जानकारी दिनुभयो ।

उहाँले मुहानदेखि पानी ल्याउने जडान गर्ने पहिला प्लाष्टिकको पाइप राखिएकोमा त्यहाँको भौगोलिक अवस्था, आगलागी हुने जोखिमका कारण जीआई पाइप जडानका लागि पुनः प्राविधिक स्टिम गर्नुपर्ने भएका कारण काममा ढिलाइ भएको बताउनुभयो । 

खानेपानी आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताले बनबाट पाइपलाइन खन्न नदिएका कारण आयोजना निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ । महावु गाउँपालिकाका प्रवक्ता एवम् वडा २ का वडाध्यक्ष प्रकाश थापाले निर्माण कम्पनीले निर्माणमा चासो नदिएका कारण काम ढिलाइ भएको बताउनुभयो । 

महावु गाउँपालिकाका वडा १, २, ३, ४, ६ लाई खानेपानी दिने उद्देश्यले आयोजना निर्माण गर्न लागिएको हो । मुअकर समेत १० करोड आठ हजारसहित २०७८ असार २४ गते सुरु भएको आयोजना २०८० असार ३ गतेसम्म सम्पन्न गर्नुपर्ने सहमति रहेको छ । तर काम निर्धारित समयमा सम्पन्न नहुने देखिएपछि स्थानीयहरू चिन्तित बनेका छन् ।