• १३ असोज २०८१, आइतबार

हावाहुरीले घर र विद्यालयमा क्षति

blog

हावाहुरी छाना उडाएको महेन्द्रतारा आधारभुत विद्यालयको भवन । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, जेठ १२ गते । बिहीबार साँझ वर्षासँगै आएको हावाहुरीले खोटाङमा घर तथा विद्यालयको छानामा क्षति पुगेको छ । हावाहुरीले दिप्रुङ चुईचुम्मा गाउँपालिका –४ बतासेस्थित महेन्द्रतारा आधारभुत विद्यालयको दुईवटा भवनको छाना उडाएको छ । सोही पालिकाका विभिन्न ठाउँका पाँच घरको छानामा क्षति गरेको छ ।  

विद्यालयको छाना उडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क बेञ्चलगायतका सामानमा क्षति पुगेको छ । आइसिटी कक्षासँगै कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदैआएको भवनको छाना उडाएर पाखामा लगेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । 

यस्तै, हावाहुरीले बतासे बोल्पाका रामबहादुर राईको घरको टिनको छाना र बरण्डा उडाएर करिब ५० मिटर टाढा लगेको छ । गाउँपालिका –३ छोरम्बुका नारायणकुमारी राईको घरमा भएको खरको छानो, मानबहादुर सार्कीको बरण्डा, भरत पुर्कुटीको बरण्डा, धिरु खड्काको बरण्डा र टायलको छाना हावाहुरीले उडाएको छ । 

दिप्रुङ चुईचुम्मा गाउँपालिकासँगै हलेसी तुवाचुङ नगरपालिकाका केही घरमा क्षति भएको छ । बिहीबार साँझमा आएको हावाहुरीले जिल्लाका अधिकांश स्थानका केरा, आँप, लिचीलगायतका फलफूलको बोट भाँच्नुका साथै फल झारेको छ । बढ्दैगरेका मकैका बोटहरु समेत हावाहुरीले लडाएको छ ।