• ८ जेठ २०८१, मङ्गलबार

चर्च ब्वाइज मनाङसँग बराबरीमा रोकियो, सातदोबाटोलाई फ्रेन्ड्सको झट्का

blog

फ्रेन्ड्स क्लबका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, जेठ ११ गते । शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको चर्च ब्वाइज क्लब मनाङ मर्स्याङ्दी क्लबसँग बराबरीमा रोकिएको छ ।

च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइज मनाङसँग गोलरहित बराबरीमा रोकिएको हो । चर्च ब्वाइजको बराबरीले लिगको उपाधि होड थप रोचक बनेको छ । जारी लिगमा मनाङको यो लगातार सातौँ बराबरी हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । बराबरीसँगै चर्च ब्याइजले शीर्षस्थानमा पाँच अङ्कको अग्रता बनाउने मौका गुमायो । बराबरीसँगै शीर्षस्थानमा यथावत् रहेको चर्च ब्वाइजको २१ खेलबाट ३८ अङ्क छ ।

दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको समान खेलबाट ३५ अङ्क पुगेको छ । तेस्रो स्थानमा रहेको जावलाखेलको ३४ अङ्क छ । समान खेलबाट २५ अङ्क बनाएको मनाङ ११औँ स्थानमा छ ।  

यस्तै अर्को खेलमा लिगको चौथो स्थानमा रहेको सातदोबाटो यूथ क्लबलाई रेलिगेसन जोगाउन संर्घषरत फ्रेन्ड्स क्लबको नमिठो झट्का लागेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले सातदोवाटोलाई ४–० गोलले हरायो ।

अघिल्ला खेलको तुलनामा फितलो प्रदर्शन गरेको सातदोबाटोमाथि फ्रेन्ड्सले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो । फ्रेन्ड्सका लागि टोरिक जेब्रिनले दुई गोल गर्नुभयो । राफिक अमिनु र कप्तान प्रकाश बुढाथोकी एक एक गोल गर्नुभएको थियो ।

खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाउनुभयो । त्यसपछि प्रकाशले ५५औँ, जेब्रिनले ८७औँ र ९०औँ मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई सजिलै जिताउनुभयो । जितसँगै फ्रेन्ड्सले रेलिगेसन रेखा छलेको छ ।

२१ खेलबाट २४ अङ्क बनाएको फ्रेन्ड्स १२औँ स्थानमा उक्लिएको छ । समान खेलबाट २९ अङ्क बनाएको फ्रेन्ड्स चौथो स्थानमा यथावत् छ । फ्रेन्ड्सको जितले सङ्कटा १३औँ स्थानमा झरेको छ । सङ्कटाको २१ खेलबाट २३ अङ्क छ । अन्तिममा रहेको खुमलटारको २० खेलबाट २१ अङ्क छ ।