• ११ पुस २०८१, बिहिबार

रैथाने बालीको बिउ बैङ्क स्थापना

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ ११ गते । गाउँपालिका र सहकारी संस्थाको समन्वयमा रैथाने बालीको बिउ बैङ्क स्थापना गरिएको छ । रैथाने बालीको संरक्षण तथा विविधीकरण गर्नका लागि बैङ्क स्थापना गरिएको हो । 

सर्केगार्ड गाउँपालिका–७ का स्थानीय कृष्णप्रसाद जैसीले बुधबारबाट रैथाने बालीको बिउ बैङ्क स्थापना गरिएको बताउनुभयो । 

घरघरमा छरिएर रहेको बिउलाई एकीकृत रूपमा बिक्री वितरण गर्न सो बैङ्क स्थापना गरिएको हो । उक्त वडाको थुम कृषि सहकारी संस्थाले रोडिकोट गाउँको कार्कीबाडामा सामुदायिक बिउ बैङ्क स्थापना गरेको हो । बैङ्कमा स्थानीय रैथाने बाली चिनो, कागुनो, सिमी, मकै, कोदो, मार्सी धान, गहुँ, जौ, उवा, भट्ट र तरकारीमा प्याजलगायत रहेका छन् । एउटा भाडाको घरमा कोठा लिएर बिउ बैङ्क स्थापना गरिएको छ । बैङ्कमा राखिएका बिउहरूको गुणस्तरसमेत परीक्षण गरिएको छ । सहकारीले आफ्ना सदस्य सबैलाई सो बैङ्कबाट सीमित मुनाफा लिएर बिउ बिक्री गर्ने छ । त्योसँगै जिल्लाका अन्य किसानले पनि बिउ खरिद गर्न सक्ने छन् । बिउ बैङ्क स्थापनाका लागि स्थानीय सहयोगी संस्था सिप नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेको र त्यसको बजारीकरणको समेत सहजीकरण गर्ने सिप नेपालका फिल्ड संयोजक कालीबहादुर भण्डारीले बताउनुभयो ।