• ११ पुस २०८१, बिहिबार

किशोरीलाई आइरन चक्की

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ ९ गते । हुम्लाका किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन थालिएको छ। विद्यालयमा अध्ययनरत १० वर्षदेखि १९ वर्ष उमेर समूहका किशोरीलाई सो चक्की खुवाउन थालिएको हो। भविष्यमा आउन सक्ने गर्भसम्बन्धी समस्या नियन्त्रणका लागि सो उमेर समूहका किशोरीलाई आइरन र फोलिक एसिड चक्की खुवाइएको जनाइएको छ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीका अनुसार गत वर्षबाट खुवाउनुपर्ने भए पनि यस वर्षदेखि सुरु गरिएको हो। ती किशोरीलाई १३ हप्ता लगातार आइरन र फोलिक एसिड खुवाउने र त्यसपछिका १३ हप्ता खुवाउन बन्द गरिने छ। किशोरीलाई वर्षमा २६ हप्ता यी दुवै औषधी सेवन गराउने काम स्वास्थ्यकर्मीले गर्ने छन्। 

सिमकोट गाउँपालिकाका सो उमेर समूहका किशोरीलाई औषधी खुवाइने छ। यो औषधि खाएपछि गर्भवती अवस्था वा सुत्केरी भएको अवस्थामा रक्तअल्पता नहुने बताइन्छ। यसले जन्मजात विकृत र गर्भपतन हुन नदिन सहयोग पुग्ने विश्वास गरिन्छ। पहिलो दिनमै ९३६ जना किशोरीले सो चक्की खाएका छन्। 

सिमकोट गाउँपालिकामा २१ वटा सामुदायिक र चार वटा संस्थागत विद्यालय छन्। शाखाले पालिकाका एक हजार २४५ जना यो उमेर समूहका किशोरी भएको अनुमान गरेको छ।