• २ असार २०८१, आइतबार

लोककल्याणकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिनुपर्छ : अध्यक्ष लम्साल

blog

धर्बेन्द्र झा  

धनुषा, जेठ ८ गते । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले लोककल्याणकारी विज्ञापन रोक्न गरेको निर्णय अभिलम्भ फिर्ता लिनुपर्ने बताउनुभएको छ। जनकपुरधाममा सोमबार आयोजना गरिएको नेपाल प्रेस युनियन धनुषा शाखाको १०औँ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले पत्रपत्रिकालाई दिने लोककल्याणकारी विज्ञापन बापतको दुई करोड भन्दा बढी अपुग रकम व्यवस्था गर्न भेटेरै सरकारका अर्थमन्त्रीलाई भनेको र यस विषयमा अर्थमन्त्री सकारात्मक देखिएको बताउनुभयो । उहाँले अपुग रकमको व्यवस्थापन नगरिए नेपाल प्रेस युनियन आन्दोलन गर्न तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, यतिबेला सञ्चार क्षेत्रमा विभिन्न खालका चुनौतीहरू देखिएको छ । स्थानीय तहदेखि केन्द्रसम्म सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने किसिमले कानुनहरू निमार्ण भइरहेको छ । 

लोकतन्त्रमा मिडिया मैत्री कानुन निमार्णका लागि हामीले विभिन्न माध्यमले प्रयत्न गरिरहेका छौँ । उहाँले लोकतन्त्रलाई संस्थागत रूपमा विकास गर्नका लागि प्रेस युनियनका साथीहरूको भूमिका महत्त्वपूर्ण भएको बताउनुहुँदै यतिबेला प्रेस युनियनका साथीहरू ऐक्यबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्णले नेपाल पत्रकार महासङ्घले शुद्धीकरण गर्दा काखापाखा नगरी एउटा मापदण्ड निमार्ण गर्नुपर्ने धारणा राख्नुभयो । 

नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले मर्यादित पत्रकारिता गर्नका लागि सबैमा आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष रोजेश कर्ण, प्रेस चौतारी धनुषाका अध्यक्ष अवधेश कामत, प्रेस सङ्गठनका अध्यक्ष अकुल साहसहितकाले अधिवेशन सफलताका लागि शुभकामना दिनुभएको थियो । कार्यक्रममा युनियनका विभिन्न तहका नेताहरूलाई दोसल्लाह ओढाएर सम्मान गरिएको थियो । 

१०औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको नेपाल प्रेस युनियन मधेश प्रदेशका उपाध्यक्ष धिरेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार सहमतिबाटै नेतृत्व चयन गरिने र त्यसका लागि छलफल जारी छ ।