• २ असार २०८१, आइतबार

कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिका प्रथम

blog

गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले वडा नं. ५ स्थित बरहवा तालमा निर्मित झुलुङे पुलको उद्घाटन गर्नुहुँदै । तस्विर : सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र 

गौर, जेठ ८ गते । वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान हासिल गरेका छन् । नेपाल सरकारबाट आर्थिक वर्ष २०८०-०८१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा मधेश प्रदेशमै गौर नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

अनुदानका लागि प्रदेश सरकार र स्थानीय तहले कार्य सम्पादन सूचक बापत प्राप्त गरेको नतिजा अनुसार गौर नगरपालिका ६५.१९ उत्कृष्ट अङ्क प्राप्त गरी मधेश प्रदेशमा नै प्रथम स्थान हासिल गरेको गौर नगरपालिकाका नि-प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताउनुभयो ।

यसैबीच गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गौर नगरपालिका वडा नं. ५ गौरीशङ्कर क्याम्पसस्थित बरहवा तालमा निर्मित झुलुङे पुलको उद्घाटन गर्नुहुँदै सर्वसाधारणको प्रयोगका लागि सञ्चालनमा आएको छ ।

टिविएसयु हेल्भिटासको ३५लाख र गौर नगरपालिकाको ३० लाख गरी कुल ६५ लाखको लागतमा उपभोक्ता समितिमार्फत उक्त झुलुङे पुलको निर्माण कार्य सम्पन्न भएर नगरप्रमुख साहद्वारा उद्घाटनपछि सञ्चालनमा आएको गौर नपाका नि,प्रमुख प्रशासकीय अधिकृत ठाकुरले जानकारी दिनुभयो ।

गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले मधेश प्रदेशमै वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सुशासनको निम्ति चाहिने तत्त्व शिक्षा स्वास्थ्य र भौतिक पूर्वाधारमा मधेश प्रदेशमा नै उत्कृष्ट भई अगाडि बढिरहेकोले आ-आफ्ना स्तरबाट सबै पक्षले सहयोग गरिदिए गौर नगरपालिका देशकै नमुना नगरपालिकाको रूपमा स्थापित हुने बताउनुभयो ।

नगरप्रमुख साहले गौर नपा वडा नं.५ स्थित बरहवा तालमा झुलुङे पुलको आवश्यकता नरहेको थियो किनभने उतरतिर नजिकै झुलुङे पुल र दक्षिणतिर पक्की पुल रहेको भन्नुहुँदै वरहवा तालमा बोट चलाउने हाम्रो योजना रहेकाले यसको पायाले गाह्रो हुने उहाँको भनाइ छ ।

तत्कालीन जनप्रतिनिधिले उक्त झुलुङे पुल अधुरो छाडेका कारण हेल्भिटासले गौर नगरपालिकालाई कालो सुचीमा राखी यो झुलुङे पुल निर्माण नभएसम्म अर्को झुलुङे पुल गौर नपामा निर्माण नहुने  भएकोले उक्त झुलुङे पुल निर्माण कार्य सम्पन्न गर्नु परेको नगरप्रमुख साहले स्पष्ट पार्नुभयो ।