• ८ मंसिर २०८१, शनिबार

आर्सनल हारेपछि सिटी तीन खेल अगावै च्याम्पियन

blog

उपाधि विजेजा सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ ७ गते । साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि रक्षा गरेको छ । उपाधि होडमा रहेको आर्सनल शनिबार राति नटिङ्घम फरेस्टसँग १-० गोलले पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बनेको हो ।

सिटीको यो लगातार तेस्रो प्रिमियर लिग उपाधि हो । नटिङ्घम फरेस्टको जितमा ताइवो अवोनियीले निर्णायक गोल गर्नुभयो । अवोनियीले १९औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो ।


च्याम्पियन सिटीको ३५ खेलबाट ८५ अङ्क छ । दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलबाट ८१ अङ्क छ । आर्सनललाई हराएको नटिङ्घम  ३७ अङ्कसहित १६औँ स्थानमा छ । जारी सिजन उच्च लयमा रहेको सिटी प्रिमियर लिगसँगै तीनवटा उपाधिको मुखमा रहेको छ । 

सिटी एफए कप र च्याम्पियन्स लिगको समेत फाइनलमा पुगिसकेको छ । लिग अन्तर्गत शनिबार राति भएको अन्य खेलमा ब्रेन्टफर्डले टोट्टनहामलाई ३-१ र म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई १-० गोलले हराएको छ । 

फुलहाम र क्रिस्टल प्यालेसले २-२, लिभरपुल र एस्टन भिल्ला तथा वल्भ्स र एभर्टनले समान १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी