सफलतापूर्वक पोषण कार्यक्रम सम्पन्न गरेबापत ‘स्केलिङ अप न्युट्रिसन’ (सन) अन्तर्गत नेपालले सुरुवाती उदयकर्ताको उपाधि पाएको छ तर पनि बैतडीको एउटा स्थिति फरक देखियो । यसले नेपालले पोषण सुधारका निम्ति अझै धेरै मेहनत गर्नुपर्ने देखाउँछ । बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । यीमध्ये ३१२ जना कडा कुपोषणले ग्रसित छन् । उमेर र उचाइ अनुसार बालबालिकामा निकै कम तौल र ख्याउटे अनुहार भएको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार गत वर्ष एक हजार २९९ कुपोषित बालबालिका रहेकोमा यस वर्ष एक हजार ९३४ जना कुपोषित बालबालिका पाइएका छन् । गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न सातवर्ष अघिदेखि सुआहारा (एकीकृत पोषण कार्यव्रmम) सञ्चालनमा छ । कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोषिलो खाना कार्यव्रmम सञ्चालन भइरहेको छ तर कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको छ । भनाइ छ ‘धेरै खाए मल थोरै खाए बल ।’ थोरै खानुको अर्थ मिलाएर अर्थात् सन्तुलित आहार खानु भन्ने हो । बालबालिका तथा गर्भवती-सुत्केरीले कुनै एक प्रकारको आहारसमेत पर्याप्त खान नपाउने विडम्बना छ । सन्तुलित आहार नपाउँदा कुपोषणको समस्या आउँछ । चिकित्साशास्त्रको भाषामा पर्याप्त प्रोटिन शक्ति वा सूक्ष्म पोषकतत्व नपुग्नु तथा पटक पटक सङ्व्रmमण एवं रोगको कारणबाट शरीरमा हुने क्षति कुपोषण हो । उमेरअनुसार शारीरिक वृद्धि नहुनु, पुड्कोपन, ख्याउटेपन, कमतौल, रक्तअल्पता यही कारण देखिन्छ । नेपालको हिमाली क्षेत्रमा पुड्कोपन तथा तराई क्षेत्रमा ख्याउटेपन र कमतौल भएका बच्चाबच्ची धेरै पाइएको छ ।
कुपोषणबाट जोगाएर बालबालिकाको शारीरिक तथा मानसिक वृद्धिका लागि पूर्ण सन्तुलित खाना खान पाउने व्यवस्था गर्न र भविष्यमा स्वस्थ्यकर जीवन बिताउन योग्य बनाउने उद्देश्यले सरकारले विसं २०६१ मै राष्ट्रिय पोषण नीति तथा रणनीति ल्याएको थियो । त्यसअघि नै अञ्चल तथा क्षेत्रीय अस्पतालमा पोषण कक्ष (वार्ड) हरू स्थापना गरिएको थियो । २०७० मा आवासीय पोषण पुनस्र्थापना गृहको परिकल्पना गरी सोको निर्देशिका पानि जारी भएको थियो । अहिले पनि खानेपानी तथा सरसफाइ, स्वास्थ्य, कृषि, पशुपन्छीसम्बन्धी मन्त्रालयको कार्यक्षेत्रबिच समन्वय गर्दै बहुक्षेत्रीय पोषण योजना सञ्चालित छ । स्वास्थ्य स्वयंसेविका मार्फत गाउँगाउँमा शिशु तथा बाल्यकालीन पोषण कार्यव्रmमसम्बन्धी परामर्श कार्यव्रmम चलाइरहेका छन् । जुकाको औषधि, भिटामिन ‘ए’ ख्वाउने जस्ता कार्यव्रmम नियमित रूपमा सरकारले चलाइरहेको छ । यस्ता कार्यव्रmममा युनिसेफ, युएसएआइडीलगायत अन्तर्राष्ट्रिय दातृ सहयोग छ तर किन बढ्दै छ कुपोषण ? गरिबी, स्वास्थ्य चेतना वा के कारण ? यसको अध्ययन गरी समाधान खोजिनु पर्दछ ।
बालबालिकाको जीवनरक्षासँगै सन्तुलित शारीरिक विकासका लागि उपयुक्त पोषण एक दह्रो जग हो । राम्रो पोषण पाएका बालबालिका राम्ररी सिक्न र हुर्कन सक्छन् । समुदायमा सहभागी हुन र योगदान दिन सक्छन् । रोग, विपत्ति र अन्य विश्वव्यापी सङ्कटसँग लड्न समर्थ हुन्छन् तर चरम कुपोषणका कारण हुने पुड्कोपनको उपचार सम्भव छैन । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई वास्तविक रूपमै छोट्याउने गर्दछ । यसको असर राष्ट्रको जनशक्ति र उत्पादनमा पर्दछ । यो अवस्थालाई परिवर्तन गर्न सकिने अनुभव नेपालसँगै छ । यसले पछिल्ला दुई दशकमा बालबालिकामा न्यून पोषणको दर उल्लेखनीय रूपमा घटाएको छ । सन् १९९६ मा ५७ प्रतिशत रहेको पुड्कोपनको सङ्ख्या सन् २०१६ मा घटेर ३६ प्रतिशत पुग्यो । सोही समयावधिमा न्यून वजन ४२ प्रतिशतबाट घटेर २७ प्रतिशत र ख्याउटेपन १५ प्रतिशतबाट घटेर १० प्रतिशत पुग्यो ।
न्यून पोषणको रोकथाम गर्न तथा यसका परिणामबाट जोगिनका लागि गर्भावस्थाको सुरुवातदेखि शिशुको दोस्रो जन्मदिनसम्मको ‘सुनौला एक हजार दिन’ महत्वपूर्ण छन् । स्तनपानलाई सघाउने, छ महिनाभन्दा कम उमेरका शिशुलाई अतिरिक्त खाना एवं सूक्ष्म पोषण उपलब्ध गराउने मात्र होइन, गरिब परिवारको आयस्रोत सुनिश्चित गर्ने कार्यव्रmम चलाउनु पर्दछ । पोषणका लागि गरिने यस लगानीले बालबालिका, तिनका परिवार, समुदाय र सिङ्गो मुलुकलाई जीवनपर्यन्त प्रतिफल दिने छ ।