प्रकाशविक्रम शाह
धनगढी, जेठ ४ गते । सुदूरपश्चिमको भूस्वर्गका रुपमा परिचित धार्मिक, पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव आउने हुनुभएको छ । उहाँको उपस्थितिमा जेठ २३ देखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको हो ।
धनगढीमा विहीबार भएको सम्मेलनको तयारी बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सो सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहने जानकारी दिनुभयो । आध्यात्मिक सम्मेलनले सुदूरपश्चिम र खप्तडको महत्व अन्तर्राष्ट्रियस्तरमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, पर्यटन र धार्मिक क्षेत्रका अगुवाहरुले आध्यात्मिक सम्मेलनले खप्तडको परिचय अझ बृहत बनाउने विश्वास गर्दे सम्मेलन सफल बनाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताएका थिए । बाजुराको बुढीनन्दा नगरपालिका प्रमुख जनक बोहराले चौकीदारी गर्न भारत र खाडीमुलुक गएकाहरुलाई यो सम्मेलनले आमाको काखमा र परिवारको साथमा पुगाउने अवस्था सिर्जना गर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिमको नाम नै खप्तड प्रदेश राख्न माग गर्नुभयो ।
खप्तडसँग जोडिएको डोटीको पूर्बीचौकी गाउँपालिकाका पूर्व अध्यक्ष दीर्घ बोगटीले पनि सम्मेलनको सफलता भनेको संस्कृतिको पहिचानसँगै रोजगारीबाट सम्बृद्धि हो भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू पालिका अध्यक्ष हुँदा ५० लाख रुपियाँ खप्तडको भौतिक विकासमा खर्च गरेको चर्चा गर्नुभयो ।
खप्तडसंगै जोडिएको अछामको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले सम्मेलन सफल बनाउन आफूहरुले सक्ने सहयोग गर्ने बताउनुभयो । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा खप्तडसंग जोडिएका चार वटै जिल्ला बाजुरा, अछाम,डोटी र बझाङका पालिकाहरुलाई पदेन सदस्य राख्दा काम गर्न सहज हुने बताउनुभयो ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले मानसखण्ड पुस्तकमा समेत खप्तडलाई पृथ्वीको सुन्दर ठाउँ भनिएको चर्चा गर्दे ६५ वर्षको उमेरमा खप्तड पुग्नुभएका खप्तडबाबाले साधना गर्दा उहाँ ५० वर्ष बाँचेको बताउनुभयो । खप्तड अलौकिक छ तर यसको प्रचार गर्न नसक्दा विदेशी पर्यटक आएनन् उहाँले भन्नुभयो, गत पाँच वर्षमा ३३ जना मात्र पर्यटक आए । त्यसैले आध्यात्मिक र पर्यटनको विकास गर्न आध्यात्मिक सम्मेलनले ठूलो भूमिका खेल्ने बताउनुभयो ।
५०० जना विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता हुने सो सम्मेलनमा झण्डै तीन करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तडलाई २०४२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा रहेको खप्तडमा १२ हजार फिट अग्लो खप्तड लेक पनि छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन र ५३ वटा थुम्काहरू छन् ।
किम्वदन्तीअनुसार महाभारतका पाण्डवपुत्र भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिकस्थल प्रसिद्ध छन् । सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री त्यहँ पुग्छन् । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । खप्तडमा विभिन्न खालका बन्यजन्तु, फुलहरु र जडीबुटी समेत पाइन्छन् ।