• ११ पुस २०८१, बिहिबार

पहिरो नियन्त्रण सुरु

blog

कालीकोट समाचारदाता

कालीकोट, जेठ ४ गते । कर्णाली राजमार्ग अन्तर्गत कालीकोट खण्डमा पर्ने सुनारखोलाको पहिरो नियन्त्रण कार्य सुरु भएको छ । सुनाखोलामा ग्याबिन जाली लगाएर नियन्त्रणको प्रयास भइरहेको छ । 

सडक डिभिजन कार्यालय जुम्लाको सव्रिmयतामा पहिरो नियन्त्रण गर्न तीन सय मिटरभन्दा बढी तारजाली लगाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर चित्र चौलागाईंका अनुसार सुनारखोलाको पहिरो नियन्त्रण गर्न यस पालि नौ हजार घनमिटर तारजाली लगाइने छ । आवश्यक परे तारजाली थप्न सकिने छ । सुनारखोलाको पहिरो नियन्त्रणका लागि बर्सेनि तारजाली लगाउने कार्य भइरहेको छ । तथापि पहिरो नियन्त्रण नभएपछि यस पटक ठूलो मात्रामा तारजाली लगाउन थालिएको बताइन्छ । 

सुनारखोला पहिरो नियन्त्रण गर्न यस पटक चार करोड ५० लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ । सडकमाथिबाट झर्ने पहिरो नियन्त्रण गर्न बायो इन्जिनियरिङका रूपमा रुख रोप्ने काम पनि हुने कार्यालयले जनाएको छ । सुनारखोलाको पहिरोले २०६३ सालयता धेरै सास्ती दिएको छ । बर्सातको समयमा सुनारखोलाको पहिरोले यात्रुलाई तर्साउने गरेको छ । प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले पहिरो ठूलो नगए पनि कमेरो माटो निरन्तर बगिरहने भएकाले यातायात सञ्चालनमा समस्या हुने गरेको बताउनुभयो ।