• १४ असार २०८२, शनिबार

एभरेष्ट तेक्वान्दोको तयारी पूरा

blog

एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजक टोली ।

काठमाडौं, जेठ १ गते । संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोको तत्त्वावधानमा यही जेठ ६ मा आयोजना हुने ‘प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’को तयारी पूरा भएको छ । 

प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो स्कुलका सञ्चालक कुमार कार्कीले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । एक दिने प्रतियोगितामा ग्योरोगी र पुम्सेका प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिता सञ्चालनका लागि सिनियर ग्रान्डमास्टर एचके लीको नेतृत्वमा मोहन थापा संयोजक रहेको ३५ सदस्यीय कमिटी पनि गठन गरिएको छ । जसमा नौ जना अन्तर्राष्ट्रिय निर्णायक रहने छन् ।

प्रतियोगिता सञ्चालनका लागि मेरिल्यान्ड तेक्वान्दो सङ्घ, एनआरएनए मेरिल्यान्ड, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना), साथी बाल्टिमोर, एचके ली तेक्वान्दो एकेडेमी, हिमालयन तेक्वान्दो, सनसाइन तेक्वान्दो, ग्लोबल तेक्वान्दो, युनाइटेड एभरेष्ट तेक्वान्दो, इगल तेक्वान्दो एकेडेमी, जुन ली तेक्वान्दो एकेडेमीलगायतका सङ्घसंस्थाले पनि सहयोग गर्ने निर्देशक कार्कीले जानकारी दिनुभयो । 

कार्कीको पहलमा मेरिल्यान्डको बाल्टिमोरमा एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसन नामक गैर नाफामूलक संस्था सञ्चालन हुँदै आएको छ । फाउन्डेसनले नेपालमा तेक्वान्दोको विकास तथा विस्तारमा विभिन्न सहयोग गर्दै आएको छ ।

विगत केही वर्षदेखि नेपाल तेक्वान्दो सङ्घसँगको सहकार्यमा ‘एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’ आयोजना हुँदै आएको छ । यस वर्षको प्रतियोगिता आगामी डिसेम्बरमा चितवनमा हुँदैछ । 

विगत तीन दशकदेखि तेक्वान्दोमा लाग्नुभएका कार्कीले सन् २०१५ अमेरिकामा तेक्वान्दो स्कुल पनि सञ्चालन गर्दै आउनुभएको छ । स्कुलमा चार वर्षदेखि ७३ वर्षसम्मका दुई सय खेलाडीले नियमित रूपमा प्रशिक्षण लिँदै आएका छन् ।