• ११ असार २०८१, मङ्गलबार

मेलम्चीको पानी दुई हप्ता नआउने : वितरण प्रणालीमा फेरबदल हुने

blog

काठमाडौं, जेठ १ गते । पुतलीसडकका पुष्करराज सेढाँईलाई जेठ १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाले दुई हप्ता पानीको आपूर्ति बन्द गर्न लागेकोप्रति दुः ख लागेको छ । “अहिले वर्षा नभएको समयमा पानी बन्द गर्नु आश्चर्यजनक लागेको छ,”उहाँले भन्नुभयो, “पानी बन्द गरेर सर्वसाधारणलाई दुः ख दिने काम मात्र हो ।” 

करोडौँ लगानी गरेको मेलम्चीको पानी सर्वसाधारणले खडेरीमा खान पाउँदैनन् भने यसको कुनै अर्थ नभएको उहाँको भनाइ छ । यस्तै बालाजु निवासी टिका श्रेष्ठले पनि मेलम्चीको पानी बन्द भएको खबर सुन्दा अनौठो लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष त वर्षा याममा पानी आपूर्ति बन्द भएको थियो । यसपालि त मेलम्ची खानेपानी आयोजनाले जेठमा नै बन्द गर्ने भएछ । अचम्म लाग्यो ।” 

मेलम्ची आयोजनाले पानी बन्द गरेर ट्याङ्कर व्यवसायीलाई फाइदा पुग्ने काम भएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, “मेलम्ची आयोजनाको पानी यो खडेरीमा बन्द गर्दा ट्याङ्कर व्यवसायीलाई फाइदा पुग्ने देखिन्छ । त्यस कारण कतै ट्याङ्कर व्यवसायीसँग मिलेमतो त भएको छैन ?” यता काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्चीको पानी आपूर्ति बन्द भएको समयमा पानी वितरण भने रोकिँदैन । उहाँले भन्नुभयो, “मेलम्चीको पानी दुई हप्ता रोकिने जानकारी प्राप्त भएको  छ । त्यस अवस्थामा हामीले काठमाडौँ वरपरका मुहानबाट सङ्कलन गरेको पानीलाई वितरण गर्नेछौँ । तर, पानी वितरणको तालिका भने पहिले भन्दा केही लामो हुने उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “हाल मेलम्चीको पानी आउँदा वितरण दैनिक जसो नै हुने गरेको थियो । तर,अबको दुई हप्ता वितरण तालिका भने दुई-तीन दिनको अन्तरमा हुनेछ ।” छिट्टै तालिका नै सार्वजनिक गर्ने योजना रहेको उहाँको  भनाइ छ । उहाँका अनुसार अहिले मेलम्चीको पानी आउँदा लिमिटेडले १७ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।  मेलम्चीको पानी आपूर्ति बन्द हुँदा लिमिटेडले १२ करोड लिटर पानी वितरण गर्ने उहाँ बताउनुहुन्छ । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पहिले देखिनै सङ्कलन गर्दै आएको काठमाडौँ वरपरका मुहानबाट सङ्कलित हुने पानीलाई नै वितरण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । प्रवक्ता राईले भन्नुभयो, “मेलम्चीको पानी आपूर्ति सुरु हुनुभन्दा अघिदेखि नै  सङ्कलन गरिरहेको काठमाडौँ वरपरका मुहानको पानी नै वितरण गछौँ ।”

पानीको स्रोत दिगो बनाउने तयारी 

काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति सहज बनाउनका लागि पानीका स्रोतलाई दिगो बनाउने तयारी रहेको प्रवक्ता राईको भनाइ छ । उहाँका अनुसार बर्षायाममा उपत्यकामा मेलम्चीको पानी पूर्णरुपमा बन्द हुने भएकाले सुन्दरी जलको पानीलाई भण्डारण गरी प्रशोधन गरेर प्रयोगमा ल्याउने तयारी छ ।  

उहाँले भन्नुभयो,“काठमाडौँमा बर्षायाममा मेलम्चीको पानी बन्द हुँदा खानेपानीको समस्या देखा पर्ने हो । त्यसैले बर्षायाममा सुन्दरी जलको पानीलाई जम्मा गरी भण्डारण गरेर पिउन योग्य बनाउने काममा लागेका छौँ ।” यस्तै उपत्यका वरपरका अन्य मुहानहरूको पनि खोजी भइरहेको उहाँले बताउनुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।