• १९ चैत २०८२, बिहिबार

कपुरकोटमा अटो दुर्घटना, पाँच जना घाइते

blog

घाइतेको उद्धार गर्दै स्थानीय ।

शङ्कर केसी

सल्यान, चैत १९ गते । सल्यानको कपुरकोट गाउँपालिका–४, किमुचौर नजिकै अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिब ११:२० बजे किमुचौरबाट मुलपानीतर्फ जाँदै गरेको म.प्र. ०३–००३ स. ४०१५ नम्बरको (अस्थायी) अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल भिरमा खसेको हो ।

दुर्घटनामा चालक कपुरकोट–४ का ३८ वर्षीय टिकाराम राना, ७२ वर्षीय डिलबहादुर सुनार, ३८ वर्षीय सागर एरी, ४४ वर्षीय टोपबहादुर एरी र भारतको उत्तर प्रदेश घर भई हाल भाँडा बिक्री गर्दै हिँड्ने ५२ वर्षीय सफि अहमद घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाका अनुसार घाइतेमध्ये सुनार र अहमदको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम रहेको छ ।

प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी तत्काल कपुरकोट आधारभूत अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि चार जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको (रिफर गरिएको) प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।