• १३ साउन २०८१, आइतबार

हेलम्बुमा कक्षा १२ सम्म दिवा खाजा

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, वैशाख ३१ गते । हेलम्बु गाउँपालिकाले कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएको छ । सरकारले कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको भए पनि हेलम्बु गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीलाई आफ्नै स्रोतले दिवा खाजा खुवाउँदै आएको हो । 

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले दिवा खाजाका साथै टाढा टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीका लागि आवास प्रबन्ध गरेको जानकारी दिनुभयो । दिवा खाजाका लागि हेलम्बु गाउँपालिकाले वार्षिक ५० लाख रुपियाँ छुट्याएको छ । अपुग भएमा अरू स्रोतबाट खर्च व्यवस्था गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो । 

गोल्मादेवी मावि, किउलकी छात्रा कर्म ल्होल्मोले घरबाट विद्यालय आउन तीन घण्टाभन्दा बढी समय लाग्ने भएकाले विद्यालयकै छात्राबासमा बसेर अध्ययन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

हेलम्बु गाउँपालिकाभर ३४ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयमा चार हजार ४३२ जना छात्रछात्रा अध्ययनरत छन् । विद्यार्थी र अस्थायी शिक्षकले दैनिक २५ रुपियाँ बराबरको दिवा खाजा पाउँदै आएका छन् । गाउँपालिकाले विद्यार्थी र अस्थायी शिक्षकको दिवा खाजामा स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई प्रयोग गर्न थालिएको छ । यसले गर्दा स्थानीय कृषकले उत्पादन गरेका कृषि सामग्री खपत बढेको शेर्पाले जानकारी दिनुभयो । मकै, गहुँ, चामल, तरकारीलगायतका कृषि उत्पादन प्रयोग गर्न थालिएपछि स्थानीय कृषक पनि खुसी छन् । 

विद्यार्थीले आफैँले तरकारी फलाउने र खानामा प्रयोग गर्दै आइरहेका छन् । भूमेश्वरी मावि गणेशबगरका विद्यार्थी मिलन ज्योतिले आफू र आफू जस्ता सबै विद्यार्थीले प्याज, गाँजर, बन्दागोपी, काउलीलगायतका तरकारी उत्पादन गरेर खाजा, खानामा उपभोग गर्दै आएको बताए । विद्यालयले भाडामा लिएको खेतबारीमा विद्यार्थी तरकारी फलाउँछन् । यसबापत विद्यार्थीले प्रयोगात्मक परीक्षामा अङ्क पाउँछन् । 

उक्त गाउँपालिकामा ५६ जना अस्थायी शिक्षक रहेका छन् । अस्थायी शिक्षकका लागि ‘अवकाश कोष’ खडा गरिएको छ । अस्थायी र राहत शिक्षकले मासिक पाँच सय रुपियाँ कोषमा जम्मा गर्नुपर्छ । त्यसमा गाउँपालिकाले मासिक पाँच सय रुपियाँ जम्मा गरिदिन्छ । यो रकम जागिर छोडेको अवस्थामा शिक्षकले पाउँछन् । यसैगरी गाउँपालिकाले अस्थायी शिक्षकका लागि पाँच लाख रुपियाँको स्वास्थ्य बीमा कोष पनि खडा गरिदिएको छ । गोल्मादेवी माविका अस्थायी शिक्षक युवराज पौडलले यसले शिक्षण व्रिmयाकलापमा उत्साह थपेको बताउनुभयो ।