शेरबहादुर राई
ओखलढुङ्गा, पुस ३ गते । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा एक जना विज्ञान विषयका शिक्षक मृत अवस्थामा फेला परेका छन् । चिशंखुगढी गाउँपालिका–७ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका –५ को सिमानामा रहेको गणेशथान माध्यमिक विद्यालयमा विज्ञान विषय अध्यापन गराउँदैआएको अन्दाजी ५६ वर्षीय राजेश्वरप्रसाद साह मृत फेला पर्नुभएको हो ।
सिराहाको कर्जहना नगरपालिका –६ स्थायी घर भएका साह हाल चिशंखुगढी गाउँपालिका –७ गैरीस्थित मणिप्रसाद श्रेष्ठको घरमा कोठा भाडामा लिएर बस्दै आउनुभएको थियो ।
आफ्नै सुत्ने कोठाको भित्तामा अडेस लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मनिष लुईटेलको कमाण्डमा पाँच जनाको प्रहरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याइएको छ । घटनाको कारण खुल्न बाँकी रहेकाले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।