• १३ साउन २०८१, आइतबार

वर्ष दिनमा सात लाख करदाता थपिए

blog

काठमाडौँ, वैशाख ३१ गते । पछिल्लो समयमा करमा दर्ता हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ । सम्पूर्ण किसिमको आर्थिक कारोबारका लागि स्थायी लेखा नम्बर (प्यान) र साना व्यवसाय पनि मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएपछि करमा दर्ता हुनेको सङ्ख्या व्रmमिक रूपमा बढिरहेका छन् । 

अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार २०७८ साल चैतदेखि २०७९ चैतसम्मको अवधिमा मात्रै करिब सात लाख करदाता थपिएका छन् । तथ्याङ्क अनुसार २०७८ चैतसम्म ४७ लाख र २०७९ चैतसम्म करिब ५४ लाखले पान लिएका छन् । 

मन्त्रालयले सार्वजनिक गरेको उक्त पछिल्लो तथ्याङ्क अनुसार व्यक्ति प्यान नम्बर लिनेको सङ्ख्या बढ्दा करमा दर्ता हुनेको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो । २०७९ चैतसम्म करिब ३५ लाखले व्यक्तिगत प्यान लिएका छन् । यो सङ्ख्या २०७८ चैतसम्म २९ लाख २० हजार थियो । त्यस्तै समीक्षा अवधिसम्म व्यावसायिक प्यान लिनेको सङ्ख्या १८ लाख ६० हजार नाघेको छ, जुन २०७८ चैतसम्म १७ लाख ६७ हजार थियो । करकट्टी गर्ने संस्थाले लिएको प्यान सङ्ख्या भने २५ हजार ४८२ पुगेको मन्त्रालयको भनाइ छ । हालसम्म मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनेको सङ्ख्या भने तीन लाख छ हजार रहेको छ । २०७८ चैतमा भने यो सङ्ख्या तीन लाख १६ हजार थियो । भ्याट खारेजीमा परेको अथवा निष्व्रिmय करदाताहरू भ्याटको दायराबाट बाहिरिँदा पनि सङ्ख्या घट्ने हुन्छ । त्यस्तै अन्तःशुल्कमा दर्ता हुनेको सङ्ख्या भने एक लाख १८ हजार ९३० पुगेको मन्त्रालयले जनाएको छ । 

सरकारले आर्थिक वर्ष २०७६/७७ देखि तलबलगायत सम्पूर्ण कारोबारका लागि प्यानमा दर्ता हुनुपर्ने र साना व्यवसाय पनि भ्याटमा दर्ता हुनुपर्ने नियम लागु गरेको थियो । करको दरभन्दा दायरा विस्तार गर्ने नीति अनुसार करमा दर्ता गर्ने नियम लागु गरिए पनि सङ्ख्यात्मक वृद्धिजस्तो कर राजस्व भने बढेको देखिँदैन ।