• १२ साउन २०८१, शनिबार

विशिष्ट कार्यालयमा पुगेन मेलम्चीको पानी

blog

काठमाडौँ, वैशाख ३१ गते । काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको दुई वर्ष बितिसक्दासमेत अति विशिष्ट कार्यालयमा मेलम्चीको पानी वितरण सुरु हुन सकेको छैन । राष्ट्रपतिको कार्यालय, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायतका मन्त्रालय, विभिन्न सरकारी कार्यालय र सार्वजनिक संस्थानमा अहिलेसम्म मेलम्चीको पाइप जडान गरिएको छैन । यी कार्यालयमा ट्याङ्कर, जार र बोतलका पानी किनेर प्रयोग गर्ने गरिएको छ । २०७७ साल चैत २० गते पहिलो पटक काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको थियो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले राष्ट्रपति कार्यालयमा अहिलेसम्म मेलम्चीको पानी वितरणका लागि पाइप जडान नगरिएको जानकारी दिनुभयो । उहाँले पाइप जडानका लागि मेलम्ची खानेपानी आयोजनासँग लामो समयदेखि पहल गरे पनि अहिलेसम्म जडान हुन नसकेको बताउनुभयो । उहाँले राष्ट्रपति कार्यालयमा ट्याङ्कर, जार र बोतलका पानी किनेर प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टले यस कार्यालयमा पनि अहिलेसम्म मेलम्चीको पानी वितरणका लागि पाइप जडान हुन नसकेको बताउनुभयो । उहाँले कार्यालयमा ट्याङ्कर, जार र बोतलको पानी किनेर प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो । 

मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ कार्यालयका निर्देशक राजेन्द्र सापकोटाले राजधानीको अति विशिष्ट कार्यालय तथा निवासलगायत सरकारी कार्यालय र सार्वजनिक संस्थानमा अहिलेसम्म मेलम्चीको पानी वितरण हुन नसकेको र भविष्यमा पाइप जडान गरी पानी वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ कार्यालयले सरकारी कार्यालय र संस्थानलाई सिधै पाइप जडान गर्न नमिल्ने बताउँदै उहाँले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ग्राहक बनेर आएको अवस्थामा मात्र यस एकाइले पाइप जडान गर्न सक्ने जानकारी दिनुभयो ।  

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायत अति विशिष्ट कार्यालय र निवासमा मेलम्चीको पानी पु-याउने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको पानी सिधै पिउन योग्य छ भन्ने आत्मविश्वास जगाउन समय लागेको छ । त्यसपछि ती कार्यालयमा मेलम्चीको पानी वितरण गरिनेछ ।” सरकारी तथा सार्वजनिक निकायमा निजी क्षेत्रबाट वितरण हुँदै आएका ट्याङ्कर, जार र बोतलको पानीलाई आफूहरूले प्रतिबन्ध लगाउन नमिल्ने स्पष्ट गर्दै उहाँले आफूहरूले उनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । 

छैन मेलम्चीको पाइप

मेलम्ची खानेपानी आयोजनालगायत मेलम्चीको पानी वितरण व्यवस्थापनको जिम्मा पाएका कार्यालयहरूमा समेत अहिलेसम्म मेलम्चीको पाइप जडान हुन सकेको छैन । यी कार्यालयले आफैँ ट्याङ्कर, जार र बोतलको पानी किनेर खाने गरेका छन् । मेलम्ची खानेपानी आयोजना कार्यालय, मेलम्चीको पानी वितरण तथा पाइप जडानको जिम्मेवारी पाएका मेलम्ची खानेपानी आयोजना कार्यान्वयन एकाइ कार्यालय, पानी वितरणको जिम्मेवारी पाएका काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालयले ट्याङ्कर, जार र बोतलको पानी किनेर खाने गरेको पाइएको छ । 

मेलम्ची खानेपानी आयोजनाका प्रमुख कमलराज श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अहिलेसम्म मेलम्चीको पानी वितरणका लागि पाइप जडान नगरिएको स्वीकार्नुभयो । उहाँका अनुसार कार्यालयमा अन्य प्रयोगका लागि कार्यालय परिसरमै जडान गरिएको बोरिङको पानी प्रयोग गरिन्छ भने पिउने पानीका लागि ट्याङ्कर, जार र बोतलको पानी किनेर प्रयोग गर्ने गरिन्छ ।