• १३ साउन २०८१, आइतबार

खडेरीले सुक्नथाल्यो मकैको बोट

blog

देवचुली नगरपालिका वडा नं १ मा नष्ट भएकाे मकै बाेट।

मीना कंडेल

कावासोती, वैशाख २९ गते । लामो समयसम्म पानी नपर्दा बोटमै मकै सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।

पूर्वी नवलपरासीमा धानसहित मुख्य खाद्यबालीको रुपमा खेती गर्दै आएका किसानहरु हुर्किन नपाउँदै मकै सुक्न थालेपछि चिन्ता गर्न थालेका छन् । लगाएको बाली खेडरीले बोटमै धमाधम सुक्न थालेको छ । बारीमा मकैका बोट सुकेर नष्ट हुँदै छन् ।

जिल्लाको कावासोती, देवचुली, गैँडाकोट, मध्यविन्दुलगायतका ठाउँमा खडेरीले मकै सुकेर नष्ट हुँदै गएका हुन् । जिल्लामा पर्याप्त वर्षा भएको छैन । विशेषगरी सिँचाइ सुविधा नभएको स्थानका मकै बाली सुकेका छन् ।

किसानले लगाएको मकै बाली मात्र हैन, व्यवसायिक रुपमा गरेका तरकारी खेतीमा समेत खडेरीले प्रभाव पारेको छ ।

खडेरीले बालीनाली लगाउने र फल्ने बेला नष्ट गरेपछि आफूहरुलाई भोकमरी निम्तिने अवस्था आउँछ कि भन्ने चिन्ता रहेको देवचुली १ का सदिक्षा भण्डारीले बताउनुभयो ।

देवचुलीकै रामप्रसाद रिजालले पानी नपरेका कारण मकैको बोट सुक्न थालेपछि फाडेर बस्तुलाई दिन थालेको बताउनुभयो ।

“प्रायःजसो आकाशे खेतीको भरमा जीवन गुजारा चलाउँदै आएका यहाँका किसान यसपालि लामो समयसम्म पानी नपरेपछि दुःख गरेर उमारेको मकैको बोटसमेत सुकेर काम नलाग्ने अवस्था भइसक्यो”, उहाँले भन्नुभयो, अब त बारी खाली बनाउनुको विकल्प नभएको उहाँको भनाइ छ । 

“बारीमा लगाएको मकैको बोट फेददेखि नै सुक्न थाल्यो, अब के गर्ने भन्ने चिन्तामा किसान परेका छन्”, उहाँले भन्नुभयो, “अहिलेसम्म नभएको अवस्था यसपालिको खडेरीले उब्जाएपछि खाद्य सङ्कट नै हुने अवस्था सिर्जना होला जस्तो छ ।”

यता, कावासोतीका किसान गंगा शर्मा पानी नपरेर खडेरी परेपछि तरकारी पनि राम्रोसँग फस्टाउन नपाई बोटबिरुवा सुक्दै गएको साथै पानी नपर्दा आफूहरुले मकै छर्न नपाएको गुनासो गर्नुहुन्छ ।

जिल्लामा चार हजार ५७० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । यो वर्ष मौसम विभागका अनुसार तराई क्षेत्रका जिल्लाहरुमा कम पानी पर्ने प्रक्षेपण गरिएको छ ।

नवलपुर जिल्लामा यो वर्ष १३ हजार ५३० मेट्रिक टन मकै उत्पादन हुने अनुमान छ । तर यही अवस्था रहिरहने हो भने मकै उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनुभयो  ।