• १३ साउन २०८१, आइतबार

प्रशासकीय अधिकृत नहुँदा लमही नगरपालिकामा कामकाज ठप्प

blog

दाङको लमही नगरपालिका ।

दिवाकर पोख्रेल

देउखुरी, वैशाख २५ गते । दाङको लमही नगरपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ । चालु आर्थिक वर्षमा लमही नगरपालिकामा चार जना प्रमुख प्रशासकीय अधिकृत आउने र जाने भइरहेको छ । 

लमही नगरपालिका कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतको विवादले लामो समयसम्म बस्न नसकेका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर जाने र आउने क्रम चलिरहेको छ । 

लमही नगरपालिकामा सरुवा भएर जाने र फेरि प्रमुख प्रशासकीय अधिकृत फर्केर आउने र ल्याउने क्रममा पनि चल्यो । लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गहेन्द्रबहादुर डाँगी तीनपटक सरुवा भएर जाने र आउने क्रम चलिरहेयाे । 

पछिल्लो पटक अर्जुनबहादुर थापा प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत रहे पनि उहाँले आफू बिरामी भएको भन्दै एक महिनादेखि विदामा हुनुहुन्छ । 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा लमही नगरपालिकाको दैनिक कामकाजदेखि योजना फरफारकका कामहरू लथालिङ्ग अवस्थामा छ । 

चालु आर्थिक वर्षका योजनाहरू धमाधम काम भएर योजना फरफारकको समय अन्तिम चरणमा पुग्दा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर हुन सकेका छैनन् । चालु आर्थिक वर्षमा काम सम्पन्न भएर भुक्तानी गर्नकै लागि ५० वटा फाइलहरू भुक्तानी कुरेर थन्किएका छन् । 

टोल विकास संस्था र निर्माण कम्पनी मार्फत योजनाका काम सम्पन्न भए पनि भुक्तानी हुन नसक्दा उपभोक्ता र निर्माण व्यवसायीहरू आक्रोशित छन् । 

लमही नगरपालिका वडा नम्बर ३ का जन निर्माण सेवाका प्रोप्राइटर शरद भण्डारीले आफूले काम सम्पन्न गरेको लामो समयसम्म पनि भुक्तानी नपाएकाले अब दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘काम सम्पन्न भएपछि पनि भुक्तानी पाउन सकिएको छैन, काम गर्ने मिस्त्रीहरूले मलाई सताउँछन्, अब आन्दोलन गर्नुको विकल्प छैन । यस्तै, उपभोक्ता समितिमा पनि रकम भुक्तानी नहुँदा ठूलो समस्यामा परेका छन् । ’

भुक्तानीको समस्या मात्रै होइन कार्यालय प्रमुखविहीन भएपछि राजश्व सङ्कलनमा समेत प्रभाव परेको छ । नदीजन्य पदार्थलगायतबाट राजश्य सङ्कलन समेत नगरपालिका करिब असफल भएको छ । 

चालु आर्थिक वर्षमा अनुमानित गरेको राजश्व सङ्कलनको दर ज्यादै न्यून छ । नगरपालिकाले चालू आर्थिक वर्षमा ३३ करोड ८० लाख रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिए पनि अहिले त्यसको आठ प्रतिशत तीन करोड ३४ लाख रुपियाँ मात्रै राजश्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष समापन हुन दुई महिना मात्रै बाँकी रहँदा उक्त अपेक्षित राजश्व सङ्कलन हुन नसक्ने अर्थविज्ञहरु बताउँछन् । 

नगरपालिकामा सेवा प्रवाह बढाउन  लागि कार्यअवधि बढाएर बिहान ७ बजेबाट सेवा दिन थाले पनि कार्यालय प्रमुख नहुँदा सेवा प्रभाह प्रभावकारी हुन सकेको छैन । 

यस विषयमा लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीले प्रमुख प्रशासकीय अधिकृतको छिट्टै व्यवस्थापन गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगर प्रमुख यही विषयलाई लिएर काठमाडौँमा हुनुहुन्छ, अब नयाँ प्रशासकीय अधिकृतको व्यवस्थापन गरेर सेवा प्रवाह गर्ने योजना बनेको छ ।’