• १३ असोज २०८१, आइतबार

पाथीभरामा दर्शनार्थीको उपस्थिति बाक्लिँदै

blog

पाथीभरा धाममा लागेको तीर्थयात्रीको भीड । तस्बिर: चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २५ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको भीड लागेको छ । पछिल्लो सातायता दैनिक हजारौँ तीर्थयात्रीको आगमन हुन थालेसँगै पाथीभरामा दर्शनार्थीको भीड लाग्न थालेको हो । 

वैशाख १५ गतेपछि अन्धशुक्र सकिएसँगै पाथीभरामा तीर्थयात्रीको आगमन बढ्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार शनिबार एकैदिन तीन हजार ५७७ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । यस्तै, गएको शुक्रबार पनि दुई हजार ४५ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । 

त्यस्तै, गएको मङ्गलबार चार हजार १३१ जना भक्तजनले पाथीभराको दर्शन गरेको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो । उक्त सङ्ख्या वैशाख महिनायताको हालसम्मकै धेरै तीर्थयात्रीको सङ्ख्या भएको पनि उहाँले बताउनुभयो । उहाँले यसअघि गत चैत ४ गते एकैदिन पाँच हजार ७०८ जना भक्तजन पाथीभरा दर्शनमा पुगेका जानकारी दिनुभयो । 

उहाँकाअनुसार अन्धशुक्रको समयसँगै तीर्थयात्रीको आगमन घटेको थियो । अन्ध शुक्रको समय समाप्त भएपछि भने एक्कासि तीर्थयात्रीको आगमन बढ्दै गएको र पाथीभरामा भिडभाड हुन थालेको समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार हिजोआज दैनिक हजारौँको सङ्ख्यामा तीर्थयात्रीहरू पाथीभरा दर्शनमा पुग्दै आएका छन् । भक्तजनको चापलाई दृष्टिगत गरी तीर्थयात्रीको पूजाआजालाई सहज बनाउन पाथीभरा क्षेत्रमा रहेका कर्मचारीलाई स्वयंसेवकको रूपमा निरन्तर खटाउँदै आएको समितिले जनाएको छ ।

अधिकांश तीर्थयात्री कोशी प्रदेशका जिल्लाहरूबाट आएका छन् भने काठमाडौंलगायत देशैभरबाट तीर्थयात्रीहरू आउने गरेका समितिले जनाएको छ ।

देश बाहिर भारतको सिक्किम, दार्जिलिङलगायतबाट पनि उल्लेख्य सङ्ख्यामा तीर्थयात्री आइरहेका पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । महतका अनुसार आइतबार पनि सयौँको सङ्ख्यामा तीर्थयात्री पाथीभरा दर्शनमा गएका छन् ।

यता तीर्थयात्रीको आगमन बढेसँगै सदरमुकाम फुङ्लिङ बजारसहित पाथीभरा क्षेत्रका होटलहरु खचाखच भएका छन् ।

पाथीभरा क्षेत्रको काफ्लेपाटी, माथिल्लो फेदी र फुङ्लिङ बजारका होटलहरु तीर्थयात्रीले भरिभराउ भएका होटल व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष दिनेश खवासले जानकारी दिनुभयो । खवासका अनुसार हिजोआज माथिल्लो फेदीका होटलहरुले तीर्थयात्रीको चापलाई धान्न मुस्किल परिरहेको छ । 

त्यसैगरी, तीर्थयात्रीलाई यातायात सुविधा  पुर्‍याउनलाई धौ–धौ परिरहेको स्थानीय यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी भीषण लिम्बूका अनुसार चाप बढेपछि तीर्थयात्रीले भन्ने बित्तिकै यातायात सुविधा (सवारी साधन) उपलब्ध गराउनलाई समस्या भइरहेको छ ।

तीर्थयात्रीको चापका कारण बिहान ४ बजेदेखि राति ८ बजे पछिसम्म नै यातायात सञ्चालन गर्नुपरेको र एउटै सवारी साधनले चार/पाँच पटकसम्म ओहोरदोहोर गर्नु परिरहेको लिम्बूले बताउनुभयो । 

तीर्थयात्री आफैँले लिएर आएको अधिकांश सवारी साधन सदरमुकाम फुङ्लिङ बजार र सुकेटार क्षेत्रसम्म मात्र पुग्ने गर्दछन् । सुकेटारदेखि उताको सडक कच्ची भएकाले लोकल (स्थानीय) गाडीहरू प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।

फुङ्लिङ बजारदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायात सञ्चालन हुने गरेको छ । काफ्लेपाटीदेखि भने तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा धामसम्म पैदल यात्रा गर्नुपर्दछ । 

पैदल यात्राका लागि पदमार्ग सहज भए पनि उकालो बाटो भएकाले कतिपय यात्रा गर्न कठिन हुने तीर्थयात्रीको लागि भरियाको सुविधा पनि रहेको छ । सयौँको सङ्ख्यामा रहेका भरियाले तौलअनुसार भाडा लिएर तीर्थयात्रीलाई बोकेर पाथीभरा धाम पुर्‍याउने गर्दछन् भने धामदेखि काफ्लेपाटीसम्म ल्याउने पनि गरेका छन् । 

उता, पाथीभरा दर्शनका लागि दसैँ र तिहार तथा अहिलेको समयलाई मुख्य मौसम मान्ने गरिएको छ । चैते दसैँ रामनवमीपछि सुरु हुने अहिलेको मौसममा भने देवीको दर्शनसँगै कञ्चनजङ्घा हिमालसहित मनोरम दृश्यको अवलोकनसमेत गरेर रमाउन पाइने हुँदा तीर्थयात्री निक्कै आकर्षित हुने गरेका छन् । तीर्थयात्रीको आगमन भने मुख्य सिजनबाहेक १२ महिना हुने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।