• ७ मंसिर २०८१, शुक्रबार

जनताको युगीन आवाज

blog

प्रसिद्ध सञ्चार उद्यमी एवं प्रकाशक क्याथरिन ग्राहमको भनाइ छ, “समाचार त्यो हो, जुन कुरा कोही कसैले दबाउन चाहन्छ। अरू सबै विज्ञापन हो। लक्ष्य निर्धारण गर्नु निकै चुनौतीपूर्ण कुरा हो तर हामी के छाप्छौँ र के छाप्दैनौँ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ।” झन्डै चार दशक लामो पत्रकारिताको अनुभवलाई अहिले ९५औँ वर्षको जीवनयात्रामा मिहिन ढङ्गले समीक्षा गर्दै नवीन आयाम थप्न अबको पुस्तालाई प्रेरणा मिलोस् भन्ने कामना गरिरहेको छु। ग्राहमको भनाइजस्तै पत्रकारितालाई कुन रूपमा प्रस्तुत गर्ने भन्ने विषय अहिलेको मुख्य चुनौती हो। सँगसँगै यसले महान् अवसर पनि सिर्जना गर्न सक्छ। 

पत्रकारिता फगत समाचार लेख्ने, जागिर खाने विषय मात्रै होइन। जनताका आधारभूत आवश्यकतालाई नवीन ढङ्गले प्रस्तुत गरेर समाजलाई युगीन बनाउनु पनि हो। नेपाली पत्रकारिताको जननी गोरखापत्रको वार्षिकोत्सवको सन्दर्भमा अबको पत्रकारिताको लक्ष्य नागरिकको चाहना, सरकारलाई उत्तरदायी बनाउन र प्रविधिको क्षेत्रले प्राप्त गरेको सफलतालाई एकैसाथ अघि बढाउने सङ्कल्प गर्न आवश्यक छ। दबाबबाट मुक्त पत्रकारिताको अभ्यासले मात्रै साँचो अर्थमा गोरखापत्र नागरिकको पत्रिका हुन्छ। त्यसैले गोरखापत्रकर्मी र सरोकारवालाहरूले यो विषयलाई गम्भीर रूपमा लिएर दृढ सङ्कल्पका साथ अघि बढ्ने अठोट व्यक्त गर्नुपर्छ। 

गोरखापत्रको ऐतिहासिक विरासत सामान्य छैन। साथै यसको प्रकाशनको सुरुवात पनि सामान्य परिघटना र परिवेशको समयमा भएको होइन। तत्कालीन समयमा राज्यले आफ्ना कुरा जनतालाई जानकारी दिनका लागि गोरखापत्रको सुरुवात भए पनि अबका दिनमा सरकार र जनताका बीचमा गोरखापत्र पुल बन्नुपर्छ। अन्याय पर्दा गोरखापत्र छ, विषय उठान गर्न भन्ने मनोभाव जनतामा पलाउने गरी काम गर्नु गोरखापत्रको अहिलेको मुख्य चुनौती हो। जनतासँग जोगिन नसकेको सञ्चारमाध्यम कुनै निश्चित वर्गको मुखपत्र मात्रै हुन्छ। त्यसैले गोरखापत्र जनताको आवाज बन्नु अपरिहार्य छ। 

अन्याय, अशिक्षा, बेरोजगारी र राज्यका निकायभित्रका बेथिति उजागर गरेर सरकारलाई काम गर्न सहज बनाइदिने काम गोरखापत्रले गर्न सक्छ। नागरिक समाचारका स्रोत हुन्, नागरिकसँग अन्तत्र्रिmयात्मक हुन पनि जरुरी छ। त्यसैले राज्यको नीति, कार्यक्रम, प्राथमिकता र लक्ष्यलाई प्रस्तुत गर्दैगर्दा नागरिकका समस्यालाई एक–एक गरी राज्यलाई जागरुक बनाउने दायित्व पनि गोरखापत्रको हो। नेपाललाई कस्तो बनाउने ? राज्यको सेवालाई प्रभावकारी बनाउन के गर्ने ? जनतालाई सजिलोसँग सेवा दिन कसरी सरकारी संयन्त्रले काम गर्ने भन्ने विषयमा गोरखापत्रले दिशानिर्देश गर्न सक्छ। पत्रकारिताका माध्यमबाट विषय उठान गरिदिए सरकारले पनि काम गर्ने उत्प्रेरणा प्राप्त गर्छ । 

गोरखापत्र र पत्रकारिताका चार घुम्ती

नेपाली पत्रकारितालाई विशेषतः चार चरणमा विभाजन गरेर हेर्न सकिन्छ, राणाशासन, प्रजातन्त्र, पञ्चायत र लोकतन्त्र प्राप्तिपछिको चरण। राणाशासनमा नेपाली पत्रकारिता अङ्कुरित हुन थाल्यो । प्रजातन्त्र स्थापनापछि पुष्पित र पल्लवित हुन सफल भयो। त्यतिबेला पत्रकारिताका माध्यमबाट राज्यलाई उत्तरदायी बनाउने केही काम पनि भए तर पञ्चायतकाल सुरु भएपछि फेरि पत्रकारिता क्षेत्र नियन्त्रित भयो। प्रजातन्त्र पुनस्र्थापनापछि पत्रकारिताको नयाँ युग सुरु भयो । पत्रकारिताको नयाँ युग सुरु भए पनि यसमा विकृति थपिँदै गए। पत्रकारिता पत्रकारको हातबाट साहु पत्रकारितामा प्रवेश भयो। नाफा कमाउने उद्देश्यले पत्रकारिता अघि बढ्यो । 

२०३६ को जनमत सङ्ग्रहपछि केही खुकुलो थियो तर त्यसपछि पुनः राससको पनि दायरा साँघुरो भयो। पत्रकारिता व्यापार हुँदै गयो। साहुले नाफाका लागि चलाउन थाले। गोरखापत्र पनि राज्य र जनतालाई जोड्ने माध्यम बन्न सकेन। बदलिएको परिस्थितिमा गोरखापत्रलाई बदल्ने प्रयास भए पनि त्यसलाई साकार हुन दिइएन। लोकतन्त्र प्राप्तिपछि गोरखापत्र नेतामुखी हुन पुग्यो। व्यवस्था फेरिएसँगै गोरखापत्र पनि केही हदसम्म फेरिएको अनुभूति गरेको छु। अझै सुधार गर्न आवश्यक छ। अनि मात्रै देशको पहिलो पत्रिका जनतासँग जोडिन्छ।

 पञ्चायत, पत्रकारिता र दुस्मनी

मेरो पत्रकारिताको सुरुवातमा देशमा प्रजातान्त्रिक व्यवस्था थियो। काम गर्न सहजै थियो। पत्रकारले खबरदारी गर्न सक्थे। राज्यले पत्रकारले उठान गरेका विषयलाई सम्बोधन गथ्र्यो तर हामीले निकै सङ्गीन समयसँग सङ्घर्ष गर्नु परेको थियो। म संस्कृतको विद्यार्थी हुँ। वि.सं. २०१२ मा लोकसेवा आयोगले ग्य्राजुएट र पोस्ट ग्य्राजुएट अफिसर माग्यो। मैले दरखास्त दिएँ तर मलाई नियुक्ति दिइएन, किनभने म कम्युनिस्ट पार्टीको सदस्य भइसकेको थिएँ। राज्यसँग त्यो रेकर्ड रहेछ। “कम्युनिस्ट पाल्छ सरकारले जागिर खुवाएर ?” भनेर मेरो नियुक्ति रोकियो। अनि के काम गर्ने भनेर कामको खोजीमा थिएँ। 

संयोगले हालखबर दैनिक पत्रिकामा संवाददाता खाली भएको रहेछ। मैले त्यहाँ काम पाएँ। नयाँ साइकल पनि पाएँ। म त ‘साइकलवाला पत्रकार’ भएँ। मेहनत गर्थें, दौडिन्थेँ, ढाँट्दैनथेँ। नेताहरूले पत्याउँथे, राज्यले पनि पत्याउँथ्यो। हुन त पहिलो समाचार के थियो भन्ने बिर्सिएँ तर काम गर्दै जाँदाको एउटा समाचार लेख्ने अवसर जु¥यो। डिल्लीबजार चारखाल अड्डामा मासु बेच्ने ठाउँ रहेछ। शनिबारको दिन थियो। म त्यही बाटो गइरहेको थिएँ। मासु बेचिरहेको देखेँ। मैले कार्यालयमा खबर गरेँ। सम्पादकबाट समाचार लेख्न स्वीकृति पाएँ। सरकारी अड्डामा मासु बिक्रीको समाचार लेखेँ। 

त्यतिबेला प्रधानमन्त्री टङ्कप्रसाद आचार्य हुनुहुन्थ्यो। भोलिपल्टै मलाई बोलाएर झपार्नुभयो। मैले किन झपार्नुभएको भनेर सोधेँ। उहाँले “के लेखेको ?” भन्नुभयो। मैले “सरकारी अड्डामा मासु बेच्न मिल्छ त ?” भनेँ। उहाँले “त्यसो गर्नु त हुँदैन” भन्नुभयो। मैले “त्यही भएर लेख्या” भनेँ। समाचारको विषय स्वयं प्रधानमन्त्रीले नै चासो राख्नुहुन्थ्यो। यो प्रसङ्ग उल्लेख गर्नुको सार भनेको सरकार कति जिम्मेवार र उत्तरदायी थियो भन्ने कुराको दृष्टान्त हो। 

त्यसपछि अर्को विषय पनि मलाई स्मरणीय लाग्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा एकेडेमीमा हुनुहुन्थ्यो। उहाँको तलब रोकिएको रहेछ। मैले अन्तर्वार्ता गरेँ। त्यसको पर्सिपल्ट उहाँले तलब पाउनुभयो। त्यसपछि मेरो तह उक्लियो। हालखबर पत्रिकामा चार वर्ष काम गरेँ। बाबुराम आचार्य, महानन्द सापकोटा, धरणीधर कोइरालाहरूसँग सङ्गत थियो। “भैरव आयो” भनेपछि खुसी हुन्थे। पत्रकार र पत्रकारितालाई ठुलै मान्यता थियो। 

हामी दिलोज्यानले काम गथ्र्यौं। पत्रकारिताको विषयमा केही थाहा थिएन। नेपालमा पढाइ हुँदैनथ्यो। जे लेखे पनि आफैँले लेख्ने हो। २०१७ सालपछि मेरो पत्रकारितामा २६ महिना ब्रेक लाग्यो। मैले सरकारी जागिर खाएँ। त्यो बेला दार्चुलामा जनगणना गर्नेमा म पनि थिएँ। त्यो क्षेत्रको हाकिम थिएँ। कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना गराउन गएँ तर त्यतिबेला बस्ती थिएन। तथापि लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गराउने अधिकृतका रूपमा मेरो सरकारी जागिर पनि ऐतिहासिक भयो। 

२०१३ सालबाट पत्रकारिता सुरु गरेँ। २०२० सालमा राष्ट्रिय समाचार समितिमा प्रवेश गरेँ। सुरुको चार वर्ष समाचारदाता र प्रमुख समाचारदाताको जिम्मेवारीमा काम गरेँ। २१ वर्ष काम गर्ने दौरान रासससँगै गोरखापत्रसँग पनि मेरो निकट सम्बन्ध थियो। हामीले पञ्चायतको पञ्जामा पत्रकारिता परेको बेला निकै ठूलो सङ्कटमा काम गरेका थियौँ। पत्रकारिता नपढेको पत्रकारलाई काम गर्न गाह्रो हुने नै भयो। 

सहरमै मट्टीतेल, नुन, चिनीको अभाव हुन्थ्यो। सरकारी निकायका अधिकृतले “अभाव छैन” भन्ने लेख्नु भन्थे तर म “बिनास्रोतको समाचार लेख्दिनँ, तपाईंको नाम राखेर लेख्छु” भन्थेँ। “कोसँग कुरा गर्दै हुनुहुन्छ थाहा छ नि ?” भनेर थर्काउन खोज्थे। म “सचिवसँग कुरा गर्दै छु” भन्थेँ। पत्रकार र कर्मचारीतन्त्रबीच राम्रो सम्बन्ध थिएन। केही कर्मचारी सूचनाका स्रोत हुन्थे। बीपी कोइराला पत्रकारलाई खुब मान्नुहुन्थ्यो। पछि तुलसी गिरीले पनि पत्रकारलाई महìव दिनुभयो। पञ्चायतकालमा सक्रिय निकै कम थियौँ।

एक पटकको कुरा हो, राजाको व्यक्तित्व कस्तो हो भन्ने विषय राससले लेख्ने भयो। बीपी कोइराला र मातृकाप्रसाद कोइरालासँग कुराकानी गर्न म गएँ। बीपीले “मेरो घरको सानो झ्यालबाट हेर्दा नेपालजस्तो देखिन्छ, राजाले दरबारको ठुलो झ्यालबाट हेर्दा पनि त्यही देखिने हो।” मैले समाचार लेखेँ। साथीहरूले यो त जाँदैन भने। उनीहरूले दोहोरो अर्थ लाग्ने बनाए। बीपीलाई फोन गरेर “प्राविधिक रूपमा त्यो अलिकति मिलेन” भनेँ। उहाँले हाँस्दै के लेख्नुभयो भन्नुभयो। मैले लेखेको पढेर सुनाएँ। उहाँले “हुन्छ” भनेर स्वीकृति दिनुभयो। 

त्यतिबेला अनेक किसिमले सेन्सर हुन्थ्यो। समाचार लेख्ने स्वतन्त्रता कुण्ठित थियो। राज्यका निकायले पत्रकारलाई निगरानी पनि गर्थे। मैले आफ्नो स्रोतको सधैँ संरक्षण गरेँ, गोप्य राखेँ। लेख्नु भनेको कुरा मात्रै लेखेँ। पत्रकारिताका लागि पञ्चायत निकै कठिन समय थियो तर म भन्छु, पत्रकारले घुमिरहनुपर्छ। खुट्टा खियाउनुपर्छ। विषय लेख्न छोड्नु हुँदैन। 

अहिले म ९५ वर्षमा हिँड्दै छु। पढ्यो बिर्सियो, पढ्यो बिर्सियो। 

लेख्दै गयो। अक्षर मिल्दैन, लेख्यो, को¥यो। त्यसरी नै बित्दैछन् दिनहरू। ९५ वर्षको उमेर बुढ्यौली झन्झटिलो हुँदो रहेछ। माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी दाइ, गौरीशङ्कर लालदास कसरी युवाजस्तै देखिनुहुन्थ्यो, त्यो अनुभूति गर्न मात्रै सक्छु। मभन्दा उहाँहरू जेठा हुनुहुन्थ्यो तर मेरो पढ्ने लेख्ने सिलसिला जारी छ। भक्तपुरबाट प्रकाशित हुने मजदुर दैनिकमा अहिले पनि लेख्छु। हप्तामा एउटा लेख प्रकाशित हुन्छ। मैले यो किन भन्दै छु भने पत्रकारले आफ्नो कलम कहिल्यै बिसाउनु हुँदैन। 

हामी जतिबेला सक्रिय पत्रकारितामा थियौँ, त्यो समय अहिलेको जस्तो थिएन। प्रविधि थिएन, सूचनाका स्रोतहरू निश्चित थिए, सञ्चारमाध्यम सीमित थिए। भक्तपुरको गुन्डुस्थित तिथलीमा जन्मिएको हुँ। आमालाई झाडाबान्ता लागेछ। ‘झाडापखाला लागेकालाई अस्पताल नलगेर आर्यघाट लाने बेला’मा जन्मिएको हुँ म। अहिलेजस्तो भए ती विषय अखबारको प्रथम पृष्ठका समाचार हुन्थे। त्यतिबेला आमालाई आर्यघाट लगेछन्, आमाको निधन त्यहीँ भयो । 

त्यसपछि बाले अर्को बिहा नगर्नुभएको भए घर चल्दैनथ्यो। बाको भाउजू कुष्ठरोगी हुनुहुन्थ्यो, उहाँको रेखदेख गर्नुपर्ने भयो। उहाँले हामीलाई हुर्काउनुभयो। आमा बित्नुभएपछि बुवा जोगी हुन्छु भन्नुभएछ। जजमानहरूले जोगी नहोउ बसाइँ सर्नु भनेछन्। दधिकोट भन्ने ठाउँमा बसाइँ स¥यौँ। त्यहाँबाट लुभुनजिक भयो। मैले लुभु भाषा पाठशालामा पढेँ। त्यहाँ कक्षा ८ सम्म पढेँ। त्यसपछि रानीपोखरी संस्कृत प्रधान पाठशालामा र वाल्मीकि विद्यापीठमा कलेज तह पढेँ । पढाइ सकेपछि पत्रकारितामा लागेँ।

प्रजातन्त्र, लोकतन्त्र र पत्रकारिता

मैले २०४२ सालमा निराशाकै कारण राससको जागिर छोडेँ। अहिले पनि निरासा उस्तै छन्। गोरखापत्र पनि त्यस्तै थियो। आँटिलो मान्छे सम्पादक हुनै पाएनन्। बालमुकुन्ददेव पाण्डेले केही गर्न खोजे पनि औपचारिक मात्रै भयो। पञ्चायतकालमा गोरखापत्रमा काम गर्न गाह्रो थियो। साह्रै डराएर काम गर्नुपर्थ्याे। आक्रमण हुन्थ्यो। जागिरै खोसिन्थ्यो। प्रेमराज शर्मा पौडेलले होला, कुखुरो र साँढेको कार्टुन बनाउनुभएको थियो। उहाँले बहुदललाई कुखुरो र पञ्चायतलाई साँढेको विम्बमा कार्टुन बनाउनुभएको थियो। त्यतिबेला त्यही विषयले निकै समस्या सिर्जना गरेको थियो। गोरखापत्रलाई सरकारको मुखपत्र मात्रै बनाइएको थियो । पत्रकारहरू जागिरे हुनुपरेको थियो। त्यतिबेलाका सम्पादकमाथि गोरखापत्रलाई युगका पदचाप पछ्याउने कार्यमा बन्देज गरिएको थियो। युगले खोजेको एउटा थियो, गोरखापत्रको नेतृत्वलाई अर्कै काम लगाइयो। जनताको पत्रिका हुनुपर्ने थियो तर हुन सकेन। 

समयको चक्र फेरियो, व्यवस्था पनि फेरियो। प्रवृत्तिमा सुधार आएन। अहिले नेताहरू ढाँट्छन्। मेरो आग्रह छ, २०८० लाई नढाँट्ने वर्ष मनाऔँ, के हुँदोरहेछ भनेको कसैले वास्ता गरेकै छैन। २०८० मा सत्य कुरा मात्रै, हुने कुरा मात्रै, सक्ने कुरा मात्रै गरौँ । अनि विकासको क्रम सुरु हुन्छ। नेपालको विकास धेरै गाह्रो छैन। ज्ञानी छन् नेपाली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि शेरबहादुर देउवा, माधवकुमार नेपाल, केपी शर्मा ओलीसम्मका नेताहरूमा ठूलो जिम्मेवारी आएको छ। देशमा ठुलो निरासा छ। गोरखापत्रमाथि सरकारलाई जिम्मेवार बनाउने विषयमा खबरदारी गर्ने र जनताका समस्या समाधानका लागि दिशाबोध गर्ने दायित्व छ। अबका दिनमा यस कार्यमा गोरखापत्र उच्च आत्मविश्वासका साथ लाग्नुपर्छ। 

ऐतिहासिक पत्रिका, ऐतिहासिक दायित्व

२१औँ शताब्दी प्रविधिको युग हो। यो ऐतिहासिक पत्रिकाको ऐतिहासिक दायित्व पनि छ। अहिले जनताका सपना फेरिएका छन्। युग फेरिएको छ। युगीन परिवर्तनको सपना बोकेका जनताका वास्तविक समस्या गोरखापत्रले उठान गर्नुपर्छ । पत्रकारले पत्रकारिता गर्नुपर्छ, पत्रकारितालाई जागिर बनाउनु हुँदैन। जागिरे मनस्थितिबाट मुक्त हुनुपर्छ। कुनै समय गोरखापत्रको पत्रकारिता धेरै नरम थियो। पत्रकारिता नरम हुनुहुँदैन। निर्मम हुनुपर्छ। जनतालाई सुसूचित गर्न र राज्यलाई उत्तरदायी बनाउनुपर्छ। पत्रकारिताको मर्मलाई जोगाउनुपर्छ। 

के–के गर्नुपर्छ, त्यो परिस्थिति हेरेर निर्णय गर्नुपर्छ। पत्रकारिताको मर्मलाई सुरक्षित गर्नुपर्छ। गोरखापत्रलाई सङ्कुचित घेराभित्र राखियो भने जनताको विश्वास रहँदैन। गोरखापत्रमा आएको अहिलेको सुधारलाई यथावत् राखेर भविष्यमा अझै सशक्त प्रस्तुति दिनुपर्छ । गोरखापत्रमा धेरै कुशल र सङ्घर्षशील पत्रकारको सपना जोडिएको छ। उहाँहरूले ऐतिहासिक जिम्मेवारी पनि नयाँ पुस्तालाई सुम्पिनुभएको छ। त्यसैले गोरखापत्रको वार्षिकोत्सवमा जनपक्षीय पत्रकारिता गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गर्दछु। 

(वरिष्ठ पत्रकार रिसालसँग गोरखापत्रका अशोक अधिकारीले गरेको कुराकानीमा आधारित)  

Author

भैरव रिसाल