• १३ साउन २०८१, आइतबार

एकल महिला स्वरोजगार कार्यक्रमले राहत

blog

गलकोट, वैशाख २३ गते । बागलुङको तमानखोला गाउँपालिका –६ नर्जाखानीका जसदेवी छन्त्याल ३० वर्षमै एकल हुन पुग्नुभयो । ब्रेन ट्युमरले तीन वर्षअघि श्रीमानकाे मृत्यु भएपछि छन्त्याललाई छोरा र  छोरीको लालन पालन शिक्षा–दीक्षाकै चिन्ताले सताउन थाल्यो । खेती किसानीले मात्रै परिवार पाल्न धौ-धौ भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आउनुभएको छ । 

छन्त्यालले यस पटक भने वडा कार्यालयले सञ्चालन गरेको एकल महिला स्वरोजगार कार्यक्रममार्फत आफूलाई केही राहत भएको बताउनुभयो । कार्यक्रमअन्तर्गत आफैँ उपभोक्ता समितिको अध्यक्ष भएर उहाँ वडाका अन्य महिलालाई समेत कार्यक्रममा सहभागी गराएर स्वरोजगार बन्न थाल्नुभएको छ ।  

“छोराछोरी पाल्न मुस्किल, खेती किसानीबाट घर खर्च चलाउन धौ-धौ, कार्यक्रम मार्फत एकल महिला मिलेर तीन स्थानमा पदमार्ग बनाइयो”, छन्त्यालले भन्नुभयो, “एक जना एकल महिलाको हातमा यस पटक छ हजार पर्‍यो दुई महिनाको घर खर्च टर्‍यो, प्लाष्टिक टनेलसमेत अनुदानमा दिएको छ ।”

चालु आर्थिक वर्षमा कार्यक्रममा विनियोजित रु एक लाख बजेटबाट सय मिटर पदमार्गमा ढुङ्गा छपाइएको छ । वडाका एकल महिलाले आफैँ ढुङ्गा बोकेर नर्जाखानी, पात्ले र भित्रिवनमा पदमार्ग मर्मत गरेका हुन् । 

एकल महिलालाई सामाजिक काममा सक्रियता बढाउन खोजिएको र आगामी आवमा उक्त कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन गर्ने तमानखोला गाउँपालिका –६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो ।

वडाध्यक्ष छन्त्यालका अनुसार नर्जाखानी, पात्ले र भित्रिवन गरी तीन वटा टोलमा छुट्टाछुट्टै पदमार्ग मर्मत तथा ढुङ्गा बिछाउने कार्य गरिएको हो । “घरमै सीमित एकल महिलालाई सामाजिक काममा सक्रिय गराउने र आयआर्जनमा जोड दिने गरी कार्यक्रममार्फत यस वर्ष १९ जनालाई रोजगारी दिइएको छ, उनीहरूले आफ्नै टोलमा पदमार्ग बनाएका छन्”, छन्त्यालले भन्नुभयो ।

अहिले वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सडक मर्मत, पदमार्ग निर्माण र ग्याविन जाली भर्ने काम भइरहेको छ । वडा कार्यालयले वडाको योजनाका लागि विनियोजित बजेटबाट निर्माण सामग्री खरिद गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम गराउँदा योजना प्रभावकारी बन्दै गएको छ । रासस