• १३ असोज २०८१, आइतबार

वाप्लुखा प्रहरी चौकी १२ वर्षदेखि आमा समूहको जीर्ण भवनमा

blog

खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरी चौकी जीर्ण भवन ।

राजकुमार भट्टराई

खोटाङ, वैशाख २२ गते । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरी चौकी जीर्ण भवनबाट सञ्चालन भइरहेको छ । विगत २६ वर्षदेखि वाप्लुखामा स्थापना भएको प्रहरी चौकीको अहिलेसम्म आफ्नै भवन छैन । 

भवन विहीन भएपछि वाप्लुखाका आमा समूहले प्रहरी चौकीलाई भवन दिएका छन् । तर पुरानो भवन जीर्ण भएपछि अहिले आफ्नै ज्यान जोखिममा राखेर प्रहरीहरु शान्ति सुरक्षा सम्बन्धी कार्यसम्पादन गर्न बाध्य बनेका हुन् ।

भोजपुर सिमाना भएको खोटेहाङ गाउँपालिकाको वाप्लुखा, लिकुवापोखरी र सावाकटरे क्षेत्रभित्र सुरक्षा प्रदान गर्नेगरी वाप्लुखाको कानढाकामा २०५४ सालमा सामान्य भवन निर्माण गरेर प्रहरी चौकी स्थापना गरिएको थियो । सशस्त्र द्वन्द्वको समयमा २०५७ साल चैतमा प्रहरी चौकी जलेर ध्वस्त भएको हो । 

द्वन्द्वको समयमा वाप्लुखाबाट उठेको प्रहरीचौकी २०६८ सालमा पुनःस्थापना गरिएको हो । अभिभावकको छलफल अनुसार वाप्लुखाको महाकन्य विद्यालयलाई पुरानो स्थान भन्दा केही तल पायक पर्ने ठाउँमा सारेपछि विद्यालयको भवन खाली भएको थियो ।

खाली भएपछि सिर्जनशिल आमा समूहले उक्त भवनलाई प्रयोग गर्दै आएका थिए । पुनःस्थापना पश्चात् आफ्नै भवन नभएपछि सोही भवनको २ कोठामा प्रहरी चौकी राखिएको छ । १० जना प्रहरीको दरबन्दी रहेको प्रहरी चौकीमा हाल असईको कमाण्डमा ६ जना प्रहरी छन् ।  

भवनको अन्य दुई कोठालाई एउटा बनाएर आमा समूहले कुटानी पिसानी मिल राखेका छन् । मिलको आवाजले प्रहरीको कार्यमा असर गर्दै आएको छ । अझ २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको भवनको कोठाको भित्ता चर्किएर चिरा परेको छ । कोठा साँघुरो र अँध्यारो छ । दिउँसो पनि कोठामा बत्ती बाल्नुपर्ने अवस्था छ । वर्षामा छाना चुहिने समस्या छ । एउटा कोठा चिरा परेर भासिएको छ ।

प्रहरी राखिएको भवन जुनसुकै बेला ढल्ने खतरा भएको स्थानीय विष्णुबहादुर विष्टले बताउनुभयो । हावाहुरीले एक पटक भवनको छाना उडाएको थियो । हाल सोही छानोलाई बाँधेर अड्याएको उहाँको भनाइ छ । 

पुनः भुकम्प गयो भने प्रहरीले स्थानीयलाई जोगाउने भन्दा पनि स्थानीयले प्रहरीलाई जोगाउनु पर्ने अवस्था आउने विष्टले बताउनुभयो ।  प्रहरी चौकीको भवन निर्माणका लागि २०७० सालमा ५ रोपनी जग्गा खरिद गरेर पास गरिएको थियो ।

तीन/चार वर्षअघि वाप्लुखा अनुगमनमा पुगेको तत्कालीन प्रमुख जिल्ला अधिकारी र डिएसपीको टोलीले उक्त जग्गा भवनका लागि उचित नरहेकाले अन्य जग्गा व्यवस्थापन गर्न सुझाव दिएका थिए । 

सिडिओ र डिएसपीको भनाइ अनुसार तत्काल अन्य उचित स्थान खोजेर ५ रोपनी जग्गा व्यवस्थापन गरिएको वाप्लुखाका वडाध्यक्ष पारस राईले बताउनुभयो । तर हालसम्म भवन बनेको छैन ।

प्रदेशसम्म पुगेर प्रहरी चौकी भवन निर्माणका लागि बजेट विनियोजन गर्न माग राख्दा समेत सहयोग नमिलेको वडाध्यक्ष राईको भनाइ छ । वर्षा, भूकम्पजस्ता प्राकृतिक विपत्तिका बेला स्वयं प्रहरी नै दुर्घटनामा पर्ने खतरा छ । 

यस्तै, खोटाङकै बराहपोखरी गाउँपालिका–२ फाक्टाङस्थित प्रहरीचौकी हुक्नाजोरलाई स्वास्थ्य चौकीको भवनमा राखिएको छ । प्रहरी चौकीको भवन द्वन्द्व कालमा भत्काइएपछि प्रहरीचौकी पुनःस्थापनाका क्रममा स्वास्थ्य चौकीको साँघुरो भवनमा राखिएको हो ।

जीर्ण भवनबाट असहज तरिकाले सेवा प्रवाह भइरहेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो । प्रहरी चौकीको भवन निर्माणका लागि विभिन्न निकायमा गएर पटक पटक अनुरोध गर्दा पनि बजेटको व्यवस्थापन नभएको अध्यक्ष बञ्जराको भनाइ छ ।