• १३ साउन २०८१, आइतबार

उनन्तीस ब्रोकर कम्पनी थपिँदै

blog

काठमाडौँ, वैशाख २२ गते । नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये फेरि १३ ब्रोकर कम्पनीले पनि आशयपत्र (एलओआई) पाएका छन् । नेपाल धितोपत्र बोर्डको बुधबार बसेको सञ्चालक समितिले थप १३ कम्पनीलाई ब्रोकरका रूपमा काम गर्न आशयपत्र प्रदान गरेको हो । यसअघि नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये १६ ब्रोकर कम्पनीले आशयपत्र (एलओआई) पाइसकेका छन् ।

आवेदन दिएकामध्ये १६ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले आशयपत्र (एलओआई) दिएको हो । बोर्डका अनुसार एलओआई दिएको छ महिनाभित्र सम्बन्धित कम्पनीले पूर्वाधार निर्माण गरिसक्नु पर्नेछ । बोर्डले पूर्वाधार निरीक्षण गरेर योग्य ठहराएपछि अन्तिम लाइसेन्स दिइने बोर्डले जनाएको छ । आगामी दिनमा अन्य आवेदकका पनि आवेदन अध्ययन गरेर पूर्वाधार निर्माणको आशयपत्र दिइने बोर्डले जनाएको छ ।

बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएसँगै अब बजारमा नयाँ २९ ब्रोकर कम्पनी थपिने भएका छन् । हाल बजारमा ५० ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन् ।बोर्डले बुधबार सनराइज सेक्युरिटिज, जेबीएनएल सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, स्टकस्टकार्टस सेक्युरिटिज, प्रोपर्टी बिजार्ड, क्यपिटल हब प्रालि, मिल्की वे सेयर ब्रोकर कम्पनीलाई आशयपत्र प्रदान गरेको हो ।

यस्तै ब्लुचिप सेक्युरिटिज, गरिमा सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, कलश स्टक मार्केट, मनी वल्र्ड सेयर एक्सचेन्स, मियो सेक्युरिटिजले पनि आशयपत्र प्राप्त गरेका छन् । धितोपत्र व्यापारीका लागि एक अर्ब ५० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालका लागि ६० करोड र सीमित कार्य गर्ने दलालका लागि २० करोड रुपियाँ चुक्ता पुँजी तोकिएको छ ।

आशयपत्र पाएको छ महिनाभित्रमा यी कम्पनीले पूर्वाधार तयार गरी धितोपत्र बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था छ । बोर्डले ३० दिनभित्र स्थलगत निरीक्षण र जाँचबुझ गरेर पूर्वाधार अपर्याप्त देखेमा बढीमा तीन महिनाको समय दिएर थप व्यवस्था गराउन लगाउने तथा सो अवधिमा पनि पूर्वाधार तयार नगर्नेको अनुमति स्वतः रद्द हुने बोर्डले जनाएको छ ।