उर्लाबारी समाचारदाता
उर्लाबारी, वैशाख १९ गते । आदिकालमा धिमाल जातिका युवाले एकापसमा आफ्नो जीवन साथी हेर्न जाने र मन मिले पान, सुपारी, छोकडा दिएर प्रेम प्रस्ताव राख्ने सांस्कृतिक परम्परा बोकेको जात्री पर्व मनाउने शैली आधुनिकतासँगै बदलिएको छ।
जात्रीमा अचेल पान सुपारी, छोगडाभन्दा जेरी, मिठाई र परम्परागत चिचिरीभात, गेन्द्रो भन्दा आधुनिक खानाको व्यापार फस्टाउन थालेको छ। पहिलेपहिले धिमाल पुरुष आफ्नो पोसाकमा मेला भर्न आउँथे। अचेल जात्रीमा धिमाल पुरुष आफ्नो पोसाकमा देखिन छोडे। महिलाहरू परम्परागत पेटानीमा सजिएर आउँछन् तर पेटानी लगाउने महिलाको सङ्ख्या पनि घटेको छ।
मेला भर्न आउने गैरधिमाल मात्र होइन। धिमालहरूको पनि आकर्षण मम, चाउमिन, थुक्पा, पिज्जा लगायतका खाना खाजामा बढेपछि परम्परागत खाजा बिक्रीका लागि आएका महिलाहरू निराश हुन थालेका छन्। दमक–३ बाट चिचिरीभात बिक्री गर्न उर्लाबारी–५ को झुर्माहा पुग्नुभएकी पुनम धिमालले भन्नुभयो, “१० किलो चामलको चिचिरीभात बनाएर ल्याएको मेला सकिन लाग्दा पनि बिक्री भएको छैन।” चिचिरीभात मात्र होइन, गेन्द्रो, बगिया, गोरा र चुदुरमा पनि युवापुस्ताको आकर्षण छैन।
जात्री पर्व झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने अल्पसङ्ख्यक धिमालहरूको मुख्य चाड हो। हरेक वर्षको वैशाख २ गते धिमाल जातिको उद्गमस्थल मोरङको लेटाङ–१ स्थित राजारानीमा महाराजस्थानको पूजाअर्चना गरेपछि पर्व सुरु हुने गर्छ।
भोगटेनीबाट सुरु भएको मेला धिमाल बस्तीको टोलटोलमा पुग्ने गर्छ। प्रकृतिपूजक धिमालहरू रोगव्याधी नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षा होस्, जङ्गली जनावरले दुःख नदियोस् भन्ने कामनासहित हाँस, कुखुरा, सुँगुरलगायतको बलि दिएर महाराजस्थानमा गएर सामूहिक पूजाअर्चना गर्छन्। परापूर्वकालमा धिमालहरूले ग्रामथानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै जात्री मनाउन थालिएको जनविश्वास छ।
सिर्जात अर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगव्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको छ। यो पर्वमा सालीआमाई देवीलाई धिमाल समुदायले बिरामी नबनाउने देवीका रूपमा पूजा गर्छन्। सालीआमाईको पूजामा कुनै सामग्रीको अपुग भए मानिसमा रोग व्याध लाग्ने र उनले दुःख दिने मान्यता चलनमा रहेको छ।
त्यस्तै जला (पार्वती) आमाईको पूजा खास गरी बाढीपहिरो, खोलानालाले दुःख नदेओस् भनेर गर्ने गरिन्छ। धन सम्पत्ति प्राप्त होस, श्रीवृद्धि होस्, खान लाउन अनिकाल नलागोस्, प्रशस्त कृषि उत्पादन होस् भनेर लक्ष्मीआमाईको पूजा गर्ने गरिन्छ। स्थानीय बूढापाकाका अनुसार ज्ञान प्राप्त होस्, कोही पनि अज्ञानी नहोऊन, शिक्षा र बुद्धि विवेक प्राप्त होस् भनेर सरस्वतीआमाईको पूजा गर्ने गरिन्छ।
यस्तै खेतीपातीका सामग्री र लगाउन चाहिने लुगा बुन्न आवश्यक धागो, कपडा, तन्नाको कहिल्यै अभाव नहोस् भनेर टुकुनीआमाईको पूजा गर्ने गरिन्छ। सानासाना बालबच्चालाई दुःख नहोस्, रोग व्याधी नलागोस्, सधैँ रेखदेख गरुन् भनेर डिङडिङआमाईको पूजा गर्ने गरिन्छ। सबै जातिका लागि लुगा उत्पादन गर्न सकियोस्, अन्न फलाउन सकियोस् भनेर ढालेआमाईको पूजा गरिन्छ। यसका अतिरिक्त धिमाल जातिले चारवटा माझी देवतालाई पनि पूजा गर्ने गर्छन्। जसलाई चौमाझी भनिन्छ, ढुढा ठाकुर, याउ माझी, साउ माझी र धरम ठाकुर। धरम ठाकुर भनेको देवताको पनि देवता हो।
खासगरी धिमालहरू खोलानालाको छेउमा रहेको ठूलो रुखमुनि थान बनाई देवताको पूजा गर्ने गर्छन्। सोही थानमा मिठो मसिना माछामासु पकाउने, आफन्त नातेदार बोलाउने र खाने गर्छन्। यो चलन अझै पनि निरन्तर चलिरहेको छ।
ढोलको आवाज ढङ ढङ... आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन्। खोलानाला, रुख बिरुवा र माटोको पनि पूजा हुन्छ। यसलाई ग्रामपूजा पनि भनिन्छ। असार सङ्क्रान्तिसम्म मनाइने यो पर्व धिमालका सयवटै टोलमा मनाइने गरिएको छ। धिमालहरूले दुःख–बिराम निको होस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकलअनुसारका वस्तु चढाउने गर्छन्। यो बेला धिमालका घरमा पाहुना आउने र मासु तथा चिचिरी, बगियालगायतका परिकार खुवाउने पनि गरिन्छ। जुन गाउँमा जात्री मेला लाग्छ, त्यस गाउँका धिमालका घरघरमा पाहुना आउने गर्छन्।
दमककी सोनिका धिमालले भन्नुभयो, “भेटघाट पनि हुन्छ। पाहुनालाई मेजमानी गरिन्छ। खासगरी यो पर्वलाई चेलीबेटीहरू माइत आउने अवसरका रूपमा लिइन्छ।” आदिवासीका रूपमा रहेका धिमालहरू जात्री पर्वको अवसरमा हिलोको पनि पूजा गर्छन्। नराम्रो जस्तो लाग्ने हिलोबाट मानव जातिलाई पालनपोषण गर्ने राम्रो अन्नको उत्पादन हुन्छ भन्ने मान्यता रहिआएको छ।