• ८ मंसिर २०८१, शनिबार

पीएसजीलाई लोरियन्टको धक्का

blog

पीएसजीविरुद्ध गोल गरेपछि लोरियन्टका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख १८ गते । फ्रेन्च लिग वान फुटबलको उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई लोरियन्टको नमिठो धक्का लागेको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजी लोरियन्टसँग उसैको मैदानमा ३-१ गोलले स्तब्ध बन्यो । लोरिएन्टको जितमा एन्जो लि फि, डारलाइन योङ्वा र एहमाडोउ बम्वा डिइङले गोल गर्नुभयो । 

पिएसजीका केलियन एमबाप्पेको गोल सान्त्वना बन्यो । लोरियन्टले १५औँ मिनेटमा एन्जो लि फिको गोलमा खाता खोलेको थियो । त्यसपछि २०औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटियो ।

रक्षक अचरफ हाकिमी दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनुभयो । तर पनि २९औँ मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

३९औँ मिनेटमा डारलाइन योङ्वाले गोल गर्दै लोरियन्टलाई पुनः अगाडि बढाउनुभयो । ८८औँ मिनेटमा एहमाडोउ बम्वा डिइङले गोल गर्दै लोरियन्टलाई सजिलै जिताउनुभयो । 

हारेपनि शीर्षस्थानमा रहेको पीएसजीले ३३ खेलबाट ७५ अङ्क बनाएको छ । पीएसजी दोस्रो स्थानमा रहेको मार्सेलीभन्दा पाँच अङ्कले अगाडि छ । पीएसजीलाई हराएको लोरियन्ट ४८ अङ्कसहित १०औँ स्थानमा छ । 

आइतबार राति नै भएको खेलमा मार्सेलीले अक्सरेलाई २-१ गोलले हराएको थियो । जितसँगै मार्सेलीले ३३ खेलबाट ७० अङ्क बनाएको छ ।  एजेन्सी