• १३ साउन २०८१, आइतबार

पहिरोले अरुण नदी थुनियो : दुई किलोमिटर माथिसम्म ताल बन्यो

blog

अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । तस्बिर : सामाजिक सञ्जाल

 किमाथाङ्का, वैशाख १७ गते । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । 

अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ । टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उहाँले बताउनुभयो । 

“टनेलको पानी निष्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको हो”, गोदारले भन्नुभयो । अरुण नदीको बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेल मार्फत नदी बग्दै आएको थियो ।

टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ ।  पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ । सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ । पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ । रासस