• १३ असोज २०८१, आइतबार

बजेट नहुँदा राजमार्ग निर्माण अवरुद्ध

blog

गाईघाट समाचारदाता

गाईघाट, वैशाख १७ गते । योजनाको सम्पूर्ण निर्माण पूरा भई उद्घाटन गर्नुपर्ने अवस्थामा पुगेको निर्माणाधीन मदन भण्डारी राजमार्ग निर्माण बजेट अभावले अवरोध उत्पन्न भएको छ। 

यसअघि “क्यालेन्डर डे” को आधारमा दैनिक प्रगति हासिल हुने गरी निर्माण हुँदै आएको सो राजमार्गको भौतिक प्रगति ९७ प्रतिशत पुगेको भए पनि अर्थ मन्त्रालयले आवश्यक रकम उपलब्ध गराउन आनाकानी गरेपछि सो योजना सम्पन्न गर्नमा आर्थिक सङ्कट परेको गाईघाटस्थित सडक आयोजना कार्यालयले जनाएको छ। 

पूर्वी नेपालको आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पार्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौँडा जोड्ने सो लोकामार्गअन्तर्गत पूर्वीखण्ड उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहादेखि सिन्धुलीको भिमानसम्म १३४ किलोमिटरमध्ये १३० किलोमिटरमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको  छ। 

गाईघाटस्थित मदन भण्डारी राजमार्गको समेत जिम्मेवारी बहन गर्दै आएको गाईघाट–दिक्तेल सडक आयोजना कार्यालयका प्रमुख डिई गोपालप्रसाद खकुरेलका अनुसार सो राजमार्गअन्तर्गत निर्माण गरिनुपर्ने साना ठूला गरी ५५ वटा पक्की पुलमध्ये ५४ वटा सकिएको र एउटा कटारी नगरपालिका–६ स्थित धप्पर पुल भने बजेट अभावमा निर्माण हुन सकेको छैन।

सिङ्गो उदयपुर जिल्लाको पूर्व सिमाना सप्तकोशीदेखि पश्चिमसम्म महाभारत पहाडको काछैकाछ निर्माण भइरहेको उक्त राजमार्र्गको भिमान–बसाहाखण्डमा जेडआईसीई र लामा शर्मा जेभी निर्माण कम्पनीले दु्रत गतिमा काम गरेकोले मदन भण्डारी राजमार्गमा अब पुलबनाउने ठाउँका करिब ४ किलोमिटर एप्रोच सडकमात्र कालोपत्रे हुन बाँकी छ। ‘हात्ती छि-यो पुच्छर अड्क्यो’ भनेझैँ यति ठूलो योजनालाई थप बजेट दिएर जतिसक्दो छिटो निर्माण सम्पन्न गरी उद्घाटन गराउनुपर्नेमा उल्टै बजेट कटौती गरी अर्थ मन्त्रालयले योजना लम्ब्याएर अर्काे वर्षसम्म लैजाँदा सरकारलाई आर्थिक दायित्व थपिने निर्माण व्यसायीहरू बताउँछन्। 

यसअघि नै निर्माण सम्पन्न भएका कतिपय कामको ८४ करोडभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने आर्थिक दायित्व कार्यालयलाई भएको तर सरकारले चालु आर्थिक वर्षका लागि २४ करोडमात्र रकम विनियोजन गरेकोले बाँकी काम अगाडि बढाउनेभन्दा पनि पहिले सम्पन्न भइसकेको कामको भुक्तानी दिन कार्यालयलाई कठिन भएको डिई खकुरेलले बताउनुभयो। रकमका लागि फाइल अर्थ मन्त्रालयमा पु-याइएको र थप रकम आउने प्रतीक्षामा रहेको पनि उहाँले बताउनुभयो।

कुल १३४ किलोमिटर लामो यस मदन भण्डारी राजमार्ग निर्माणका लागि नेपाल सरकारले सात अर्ब, सडकअन्तर्गत रहेका ४३ वटा पुल बनाउन करिब तीन अर्ब ४३ करोड र पहिले डिजाइन गर्न छुटेका थप १२ वटा पुलको निर्माणका लागि पछि थप गरिएको एक अर्ब २० करोडसमेत गरी कुल ११ अर्ब ६३ करोड रुपियाँ क्रमागत रूपमा निकसा हुने गरी विनियोजन गर्दै आएकोमा यस वर्ष भने न्यून रकम उपलब्ध भएकोले काम सम्पन्न गर्न आर्थिक सङ्कट आइपरेको खकुरेलले बताउनुभयो।