• १३ साउन २०८१, आइतबार

नीरा हत्या घटना : अनुसन्धान साँघुरो बनाउँदै प्रहरी

blog

काठमाडौँ, वैशाख १७ गते । नीरा पाण्डे आचार्य हत्या घटना अनुसन्धानलाई प्रहरीले साँघुरो बनाउँदै लगेको जनाएको छ। काठमाडौँको कपनमा रहेको नीरू किचेनकी सञ्चालक आचार्यको पसलभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी वैशाख ७ गते बिहीबार हत्या भएको थियो। 

सो हत्या घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी, सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका प्रमुख हरि बस्नेतलगायत रहनुभएको छ।

सीआईबी प्रमुख बज्राचार्यले हत्या घटनामा केही शङ्कास्पद व्यक्तिमाथि निरन्तर निगरानी बढाइएको र अनुसन्धानको दायरा थप साँघुरो बनाउँदै लगेको जानकारी दिनुभयो। उहाँले अनुसन्धान जारी रहेको र अभियुक्तको यकिन पहिचान नहुँदासम्म प्राप्त विवरण खुलाउन नसकिने बताउनुभयो। राजधानीमा दिनदहाडै भएको हत्या घटनाको १० दिन पुग्दासमेत अभियुक्त फेला नपरेको भन्दै स्थानीय, व्यवसायी तथा आफन्तबाट निरन्तर प्रदर्शन हुँदै आएको छ। हत्या अभियुक्तलाई सार्वजनिक गर्नुपर्ने, अनुसन्धानको प्रगतिबारे परिवार र आफन्तलाई जानकारी गराउनुपर्ने, व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्नेलगायत माग प्रदर्शन हुँदै आएको छ।

हत्या घटनाबारे अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी, जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक हरि बस्नेतसहितको टोलीलाई छुट्टाछुट्टै परिचालन गरिएको छ। सीआईबीले पनि अनुसन्धानका लागि विशेष सुराकी टोली परिचालन गरेको जनाएको छ। 

   

यो पनि पढ्नुहोस

नीरा हत्या घटना : अनुसन्धान साँघुरो बनाउँदै प्रहरी

यो पनि पढ्नुहोस

नीरा हत्याको अनुसन्धानप्रति आशङ्का