• १३ साउन २०८१, आइतबार

किसानलाई प्रोत्साहन रकम वितरण

blog

कबिराज घिमिरे 

हिले, वैशाख १५ गते । धनकुटाका एक सय ४८ दुग्ध उत्पादक कृषकले प्रदेश सरकारले उपलब्ध गराउने प्रोत्साहन रकम पाएका छन् । धनकुटा नगरपालिका वडा नं. ३ को श्री सहकारीले आफ्नो संस्थामा आबद्ध एक सय ४८ दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहन रकम वितरण गरेको हो । 

कोशी प्रदेश सरकारले अनुदान स्वरूप उपलब्ध गराएको उक्त रकम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटामार्फत  उपलब्ध गराइएको हो । संस्थाले शुक्रबार एक कार्यक्रम गरेर गएको साउनदेखि पाँच महिनासम्म दूध सङ्कलन गर्ने किसानहरूलाई प्रति लिटर रु दुई रुपियाँका दरले एकमुष्ट रकम वितरण गरेको छ । 

प्रदेश सभासद् निरन राई, धनकुटा नगरपालिकाकी उपमेयर भिमादेवी खनाल, पशुसेवा कार्यालय धनकुटाका प्रमुख लोकनाथ ढुङ्गानाले कृषकलाई रकम हस्तान्तरण गर्नुभएको थियो । प्रोत्साहन रकमले किसानहरूलाई दूध उत्पादन गर्न थप हौसला मिलेको संस्थाका अध्यक्ष खेमराज थापाले  बताउनुभयो । 

किसानहरूले न्यूनतम दुई हजारदेखि १० हजार पाँच सयसम्म प्रोत्साहन रकम पाएको संस्थाकी सचिव रामकुमारी राई रोजाले जानकारी दिनुभयो । संस्थामा सबैभन्दा बढी पाँच हजार दुई सय लिटर दूध जम्मा गरेर कृषक राजु कटुवालले १० हजार पाँच सय ४६ रुपियाँ प्रोत्साहन रकम पाउनुभएको छ ।