• १० पुस २०८१, बुधबार

डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

blog

डोल्पाका सबै जिल्ला र गाउँमा बिजुली पुर्‍याउने सरकारको योजना क्रमशः पूरा हुने क्रममा । तस्बिर : रासस

डोल्पा, वैशाख १५ गते । सबै जिल्ला र गाउँमा बिजुली पुर्‍याउने सरकारको योजना क्रमशः पूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युतको राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड)मा जोडिएको छ ।

नेपाल विद्युत प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण गरी विद्युत पुर्‍याएको हो ।

प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण गरी बिहीबारदेखि सदरमुकाम दुनैलगायत क्षेत्रमा विद्युत दिन सुरु गरेको छ । योसँगै कर्णाली प्रदेशका दसमध्ये आठ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन् । अब हुम्ला र मुगुमा विद्युत पुग्न बाँकी छ । मुगुमा आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशका जिल्लामा विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको जानकारी दिनुभयो । “डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्रमा पुग्ने छ, हुम्लाका लागि बोलपत्रको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनोट भइसकेको छ, अब छिट्टै काम सुरु हुने छ”, उहाँले भन्नुभयो ।

डोल्पा सदरमुकाम र त्यस आसपासका क्षेत्रमा लघु जलविद्युत आयोजनामार्फत विद्युत आपूर्ति हुँदै आएकामा अब राष्ट्रिय ग्रिडमार्फत वितरण हुनेछ, साथै जिल्लाभर विद्युत सेवा विस्तारका लागि  विद्युतीकरणको काम भइरहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

प्राधिकरणले सदरमुकाम दुनैस्थित ठूलीभेरी नगरपालिकामा र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रमा २०० किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत्गृहमार्फत विद्युत आपूर्ति गरिरहेको छ । डोल्पामा प्राधिकरणका करिब  एक हजार सात सय ग्राहक रहेका अन्य क्षेत्रमा लघुजलविद्युत र सौर्य ऊर्जाबाट विद्युत आपूर्ति भइरहेको छ ।

प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक (इआइबी)बाट करिब २२ करोड अमेरिकी डलर (करिब रु २८ अर्ब) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गरिरहेको छ । सरकारको लगानी र प्राधिकरण आफैँले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युतको पहुुँच विस्तारमा खर्च गरिरहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

डोल्पाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन जाजरकोटको भेरी नगरपालिकास्थित कुदु सबस्टेसनबाट सोही जिल्लाको नलगाड नगरपालिकाको चौखाबजार हुँदै डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ । ठेकेदारले काम नगरेपछि उक्त ठेक्का रद्द गरी अहिले नयाँ ठेक्का सम्झौता गरी लाइन निर्माण भइरहेको प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो । चौखा र  त्रिपुराकोटमा ३३/११ केभीका सबस्टेसन निर्माण हुनेछन् । लाइन र सबस्टेसन निर्माण करिब डेढ वर्षभित्रमा सम्पन्न हुने प्रमुख यादवले उल्लेख गर्नुभयो । रासस