• १३ साउन २०८१, आइतबार

घाँस खोज्दै चौँरीगोठ सार्न सुरु

blog

लिमीको हल्जी गाउँबाट पाटनतर्फ गोठ सार्ने क्रममा चौँरीहरु । तस्बिर: राजन रावत

हुम्ला, वैशाख १५ गते । हिउँदमा जाडो छल्न नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीबाट अग्ला पाटनतर्फ चौँरीका गोठहरू सार्ने क्रम सुरु भएको छ । लिमीका गाउँमा चौँरी गाईका लागि घाँसको समस्या हुन थालेपछि अग्ला पाटनतर्फ चौँरी गोठ सारिएका हुन । 

लिमीको वडा अध्यक्ष पाल्जोर तामाङले वैशाख दोस्रो हप्ता लागेसँगै लिमीका गाउँमा पालन हुँदै आएका चौँरीलाई एक दिन टाढाको अग्लो पाटन तुम्लिङतर्फ सार्न सुरु भएको बताउनुभयो । गाउँमा चौँरीलाई घाँसको समस्या भएपछि अग्ला पाटनतर्फ सार्नु परेको बताउँदै उहाँले अब प्रत्येक महिना अग्ला पहाडमा सार्ने क्रम जारी रहने बताउनुभयो । 

यस वर्ष कम हिमपात भएको कारण अग्ला क्षेत्रमा भएको घाँसलाई हिउँले नछोप्ने र चौँरीलाई चरनको समस्या नहुने बताउनुभयो । यतिखेर अग्ला पाटनका लागि लगिएका चौँरीका गोठहरू अब आगामी मङ्सिर महिनापछि मात्र लिमीका गाउँमा फर्कनेछन् । हाल लिमीको हल्जी गाउँमा मात्र दुई सयभन्दा बढी चौँरी छन् । हल्जी गाउँका चौँरी अग्ला पाटनमा सार्न सुरु भएसँगै अन्य दुई गाउँ तील र जाङले पनि चौँरीका गोठ सार्न सुरु गर्ने उहाँले बताउनुभयो । 

हल्जी गाउँबाट चौँरीको गोठ सार्ने दिनमै हिमपात भएको भए पनि सारिएको हो । गोठालाका लागि आवश्यक पर्ने सरसामान चौँरीमा बोकाएर अग्ला पाटनतर्फ सार्न सुरु भएको हो । चौँरीका गोठ सारिएपछि घ्यू, छुर्पी, चीजहरू पनि अब पाटनका गोठमा उत्पादन हुनेछन् । चौँरी पालनको राम्रो सम्भावना भएको लिमीमा चौँरी पालन व्यवसाय लोप हुने अवस्थामा पुगेको बेला श्रोत केन्द्रको स्थापना पछि चौँरीको सङ्ख्या बर्सेनि वृद्धि हुँदै आएको छ । उहाँले बीचको समयमा लोप हुने अवस्थामा पुगेको चौँरी पालन व्यवसाय अब फस्टाउन थालेको बताउनुभयो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।