• ९ मंसिर २०८१, आइतबार

‘हल्कारा’को गीत प्रदर्शन

blog

काठमाडौँ, वैशाख १४ गते । गायक प्रकाश सपुत र गायिका देवी घर्तीको स्वर रहेको चलचित्र ‘हल्कारा’को गीत सार्वजनिक भएको छ । ‘जीवन कठै बरी’ बोलको गीतको भिडियोमा केही संवादसमेत राखिएका छन् । गीत तथा संवादले मार्मिक रूपमा वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ । गीतमा गायक सपुतले नै शब्द तथा सङ्गीत दिनुभएको छ । 

गाउँमा चिटी पु-याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस चलचित्रले प्रस्तुत गर्छ । चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गर्नुभएको छ । चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । चलचित्रका लेखन, निर्देशन तथा सम्पादन विक्रम सापकोटाले गर्नुभएको छ । विप्लव प्रतीक र आकाश बरालले चलचित्रका लागि सह–लेखन गर्नुभएको छ । चलचित्रमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारीलगायतको अभिनय रहेको छ ।