• ८ मंसिर २०८१, शनिबार

एडिबीलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह

blog

सिंहदरबारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र एशियाली विकास बैंकका देशीय निर्देशक अर्नौड कौकोइसबीच भएको भेटवार्ता । तस्बिर : रासस

काठमाडौं, वैशाख ११ गते । नेपालले एसियाली विकास बैङ्कलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र एसियाली विकास बैङ्क (एडिबी)का देशीय निर्देशक अर्नौड कौकोइसबीच आज (सोमबार) सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष श्रेष्ठले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने जनाउँदै त्यस्ता परियोजनामा लगानी बढाउन आग्रह गर्नुभएको हो ।

उहाँले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनामा लगानी आवश्यक रहेको औँल्याउनुभयो । छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा बैङ्कले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा समेत सरकारलाई बैङ्कको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा उहाँहरुबीच आयोग र बैंकबीचको सहकार्य तथा बैङ्कको सहयोगमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो ।

बैङ्कका देशीय निर्देशक कौकोइसले हालै एडिबीले नेपालमा गरेको लगानीको ‘पोर्टफोलियो रिभ्यू’ भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनामा लगानी गर्न एडिबी तयार रहेको बताउनुभयो । एडिबीले लगानी गरेका नेपालका विकास परियोजनाको ‘पोर्टफोलियो’ सुधारिएको उहाँको भनाइ थियो ।

बैङ्कले नेपालको भौतिक पूर्वाधारलगायत क्षेत्रमा करिब रु चार खर्ब २१ अर्ब (३.२ विलियन डलर) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैङ्कले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायत क्षेत्रमा त्यस्तो लगानी गरेको हो । मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनालगायत दर्जनौँ आयोजनामा बैङ्कले लगानी गरेको छ ।

गत वर्ष मात्र बैङ्कले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो । पोर्टफोलियो रिभ्यू कार्यक्रममा बैङ्कले सहरी खानेपानी तथा सरसफाइ आयोजना, बाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृतसमेत गरेको थियो । रासस